धनगढी: सुदूरपश्चिम प्रदेशमा दशैं र तिहारको अवधिमा जुवातास खेल्ने झण्डै ४०० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट समेत खटिएको टोलीले प्रदेशका ६ जिल्लाबाट ३९७ जना जुवाडेलाई २९ लाख रुपैयाँ भन्दा बढी रकमसहित पक्राउ गरेको हो। सुदूरपश्चिचम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार सबैभन्दा धेरै कैलालीमा १८४ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ११ लाख ९ हजार रूपैयाँ नगद बरामद गरिएको छ।
यस्तै, कञ्चनपुरबाट ११ लाख ९० हजारसहित एक सय ५९ जना, चार लाख ४१ हजारसहित डडेल्धुराबाट २८ जना, अछामबाट ८६ हजारसहित ९ जना, बझाङबाट ६६ हजारसहित ५ जना र डोटीबाट १२ हजारसहित १२ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रवीन्द्र केसीले चाडपर्व लक्षित गर्दै असोज १ गतेदेखि कात्तिक २० गतेसम्म २९ लाख सात हजार २५४ नगदसहित जुवातास खेल्ने ३९७ जनालाई पक्राउ गरी सम्बन्धित प्रहरी कार्यालयले कारवाही गरेको बताए।