डोटी: डोटीको शिखर नगरपालिका–४, देवालीका कर्णबहादुर मल्लले १७ वर्ष नेपाली सेनामा जागिर खाएर अवकाश भए । मल्लसँगैका कतिपय नेपाली सेनामा काम गरेका सहकर्मी अवकाशपश्चात् वैदेशिक रोजगारीमा हुनुहुन्छ । कतिपय व्यापाररव्यवसायलगायतका क्षेत्रमा छन् । कर्णबहादुर मल्लले अवकाशपछिको समयलाई गाउँमा व्यावसायिक रूपमा तरकारी खेती गरेर उदाहरणीय कार्य गरेका छन् । पहाडका गाउँबाट बसाइँसराइ गरेर तराईलगायत सहरी क्षेत्रमा जानेका कारण गाउँमा जमिन बाँझो रहने गरेको छ । मल्लले बसाइँसराइ गरेर गएकाका कारण बाँझो जमिनलाई समेत तरकारी उत्पादनमा उपयोग गरेका छन् । उनले भने, “जागिरबाट अवकाश हुनुपूर्व नै मैले बाँकी जीवन कृषिकर्ममा नै बिताउने बारेमा योजना बनाइसकेको थिएँ ।”
घरनजिकै व्यावसायिक तरकारी खेतीका लागि निर्माण गरिएको प्लास्टिक घरतर्फ देखाउँदै उनले भने, “उत्पादन भएको तरकारीलाई बजारको समस्या छैन । २० रोपनीभन्दा बढी जग्गामा तरकारी र फलफूल खेती गरेको छु । बसाइँसराइ गरेर गएकाको बाँझो जमिनमा समेत मैले तरकारी खेती गर्दै आएको छु ।” मल्ल २०७९ सालमा नेपाली सेनाको जागिरबाट अवकाश हुनुभएको हो । हाल उनले सात वटा प्लास्टिक घरभित्र बेमौसमी तरकारी खेती गरेर वार्षिक पाँच लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
तरकारी उत्पादनका साथै बाख्रापालन, भैँसीपालन र फलफूल खेती पनि गर्दै आएका छन् । मल्लले शिखर कृषि तथा पशुपन्छी फार्म दर्ता गरेका छन् । गोलभेँडा, आलु, काउली, गाँजरलगायतका तरकारीको उत्पादन गर्दै आएका छन् । स्याउ, कागती, सुन्तला, आँपलगायतका फलफूल पनि रोपेका छन् । गाउँमा रहेका अन्य व्यक्तिलाई समेत कृषि पेसाप्रति आकर्षण गर्न मल्लले गाउँमा कृषि पुस्तकालयसमेत स्थापना गरेका छन् । पुस्तकालयमा कृषिसँग सम्बन्धित पुस्तक र जानकारीमूलक सामग्री राखिएका छन् ।
व्यावसायिक रूपमा तरकारी खेतीप्रतिको मोह देखेर सरकारीस्तरबाट समेत मल्ललाई सहयोग हुन थालेको छ । आर्थिक वर्ष २०८०र८१ मा कृषि ज्ञान केन्द्र डोटीले मल्ललाई हातेट्याक्टर र सात वटा प्लास्टिक घर तथा शिखर नगरपालिकास्थित कृषि शाखाले सिँचाइका लागि ७० हजार रुपियाँ बराबरको प्लास्टिक पाइप अनुदानमा उपलब्ध गराएको बताइएको छ । कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले भने, “व्यावसायिक रूपमा गरिएको कृषि पेसालाई उहाँले निरन्तरता दिइरहनु भयो भने हामीले थप प्राविधिक र सामग्री सहयोग गर्न सक्छौँ । पछिल्लो समयमा उहाँले राम्रै गर्नुभएको छ ।”
सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामका लागि भारतलगायत तेस्रो मुलुकमा जाने क्रम घटेको छैन । बर्सेनि पहाडबाट बसाइँसराइ गरेर तराई जानेका कारण पहाडी गाउँघरको खेतीयोग्य जमिन बाँझो हुन थालेको छ । मल्लले गाउँमा तरकारी खेतीबाट राम्रो आम्दानी गरेर उदाहरणीय कार्य गरेका छन्।