पोखरा – सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाइँ लम्बिएको छ। जिल्ला अदालत कास्कीले उनलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। मंगलबार बिहान म्याद थपका लागि उनलाई जिल्ला अदालत कास्की उपस्थित गराइएको थियो। जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले १० दिनको म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए। उनका अनुसार कात्तिक १५ गतेदेखि लागु हुने गरेर १० दिनको म्याद थप भएको हो।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि १० दिनकै म्याद थप भएको छ। रविलाई कार्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो। भोलिपल्ट बिहानपख उनलाई सडकमार्ग हुँदै पोखरा ल्याइपुर्याइएको हो।
कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो। त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार बिदाले अदालत बन्द भएपछि आज अदालतमा उपस्थित गराइएको हो। अब लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी छ।