धनगढी: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार अघिका तीन दिनमा करिब तीन हजार क्विन्टल धान गरिद गरेको छ । सरकारले गत वर्ष कैलालीमा ४० हजार क्विन्टल कोटा तोकेकोमा यसवर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएको छ । धेरै धान उत्पादन हुने क्षेत्रका किसानले राम्रो मूल्य पाउन र बाढी विपद् परेका देशका अन्य भागमा पनि आपूर्ति गर्न सहज होस् भनेर यस वर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल खरिद गर्न लागेको र यो लक्ष्य पूरा भएपछि थप खरिद गरेर एक लाख क्विन्टलसम्म पुगाइने कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयका निमित्त प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन् ।
कैलालीको मोहनपुर, टीकापुर, सत्तीमा धान खरिद शुरु भएको छ । टीकापुर शाखाका प्रमुख पुष्प बजगाईका अनुसार टीकापुर र सत्तीमा तिहारअघि दुई हजार ७०० क्विन्टल धान खरिद भएको र भजनी केन्द्रमा तिहारपछि काँटा लगाउने तयारी भइरहेको जानकारी दिए । मोहनपुर केन्द्रका वरिष्ठ सहायक मुकुन्द पनेरुका अनुसार त्यहाँ तिहारअघि काँटा लगाइसकेर एक दिनमा ८० क्विन्टल धान खरिद भएको बताउनुभयो । यस्तै, कम्पनीको कञ्चनपुर शाखा कार्यालयका सूचना अधिकारी मनोज चन्दले कार्यालयमा काँटा लगाई १३० क्विन्टर जति खरिद गरेको र तिहारपछि झलारी र सिसैयामा काँटा लगाएर पहिलो चरणमा १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए ।
कम्पनीले मोटा धान प्रतिक्विन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा मूल्यमा यसै साताबाट धान खरिद शुरु गरेको छ । अघिल्ला वर्षहरुमा स–साना गोदाम रहेको खाद्य व्यवस्था कम्पनीले यस वर्ष गोदामको क्षमता बढाएको छ । यस वर्ष टीकापुरमा एक–एक हजार मेट्रिक टन क्षमताका दुई वटा नयाँ गोदाम थपेको छ । गत वर्ष मोटा धान प्रतिक्विन्टल तीन हजार १५८ रुपियाँ रहेकोमा यस वर्ष २५२ रुपियाँ ५१ पैसा बढाएर तीन हजार ४१० रुपियाँ ११ पैसा पुगेको छ । टीकापुरमा धान बेच्न आउनुभएका टीकापुर नगरपालिका –१ बनगाउँका किसान जगदीश चौधरीले यस वर्ष प्रतिबिघा ३५–४० क्विन्टल धान फलेको र भाउ पनि राम्रै पाउन लागेकोमा खुशी व्यक्त गरे ।