अछाम: अछामको ढकारीमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सात जना घाइते भएका छन् । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ढकारी गाउँपालिका –१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, निजका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन् । यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा छन् ।
उक्त दुर्घटनामा घाइते भएकामध्ये निधार, कम्मर र खुट्टामा चोट भएका दिनेश रिमाल र टाउको र घाँटीमा चोट लागेको धने टमट्टालाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लगिएको र अन्यको ढकारी स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । ढकारीको चाइराबाट परालसहित ११ जना सवार सु।प।प्र।०१००२ त ५१८८ नम्बरको ट्याक्टर राउलासैनमा दुर्घटना भएको हो । पराल बोकेर आइरहेको ट्याक्टर राउलासैनको मोडमा पछाडिको ट्राली पल्टिएर दुर्घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
ट्याक्टरमा सवार रहेका अन्य चार जना भने सकुशल रहेको भण्डारीको भनाइ छ । दुर्घटना भएको ट्याक्टरका चालक सोही गाउँपालिका –१ का २९ वर्षीय लोकबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खेतमा धान चुटिसकेपछि ट्याक्टरबाट धान र पराल बोक्नका लागि कच्ची सडकमा ट्याक्टर लग्ने गरिएको छ ।