धनगढी । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल अमेरिकासँग फेरि पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३७ रनले पराजित भएको हो ।
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित हुन पुग्यो । अमेरिकाको डालसस्थित ग्रान्ड पेरी क्रिकेट रंगशालामा नेपाल ४९।५ ओभरमा अलआउट भएको हो ।
नेपालका तर्फबाट ओपनर अनिल साहले अर्धशतकीय पारी खेले । उनले ८० बलमा सर्वाधिक ५२ रन जोडे भने सोमपाल कामीले ४६ रन बनाए । अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।
यसैगरी कुशल मल्लले ३३, दीपेन्द्रसिंह ऐरीले ३१, कुशल भुर्तेलले २९ र आरिफ शेखले २१ रन बनाए ।
अमेरिकाका सौरभ नेत्रावलकरले सर्वाधिक ४ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । अमेरिकाका लागि ३ खेलाडीले अर्धशतक बनाए । जसमा साइतेजा मुक्कामाले सर्वाधिक ७५ रन जोडे । यस्तै कप्तान मोनाक पटेलले ६७ तथा हर्मित सिंहले ५९ रन योगदान गरे ।
नेपालका तर्फबाट गुल्शन झाले ३, सोमपाल कामी र सन्दीप लामिछानेले समान २ र कुशल भुर्तेलले १ विकेट लिए ।
नेपाल यसअघिको पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । यो दोस्रो हार हो । दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । सिरिजअन्तर्गको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्नेछ ।
नेपाल तालिकाको सातौँ स्थानमा रहेको छ । नेपालको ११ खेलमा पाँच अङ्क छ । १२ खेलमा १६ अङ्कका साथ अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।