धनगढी: बैतडीको मेलौली नगरपालिका–७ गाउँकोटका करबीर चन्द ९अहिले स्वर्गीय० भारतीय सेनाको गोरखा रेजिमेन्टमा कार्यरत थिए । छोरा भए फौजी नै बनाउने सोच थियो उनको । तर, छोराका आशमा दुईरदुई वर्षको अन्तरमा उनका आठ छोरी जन्मिए । बविता, मञ्जु, मुन्नी, अनिता, सरिता, इन्द्रा, मनिषा र अमिता । जतिपटक छोरी जन्मिए उती नै पटक गाउँ समाजमा कुरा काटिन्थ्यो चन्द दम्पतीको । छोराको आशमा करबीर उनकी श्रीमती बिनाले धेरैपटक देवीदेउतामा भाकल र पूजा पनि गरेका थिए । तर, जन्म भयो आठ छोरीको । पहिले छोरा भएन भनेर कुरा काट्ने समाजले अहिले प्रशंसा गरिरहेको हुन्छ । कारण हो, करबिरका छोरी छोराभन्दा कम छैनन् । आठ छोरीमध्ये पाँच जना दिदीबहिनी त सुरक्षा निकायमा जागिरे भइसकेका छन् । मुन्नी चन्द, इन्द्रा चन्द, अनिता चन्द र अमिता चन्द नेपाली सेनामा जागिरे छन् । सरिता चन्द नेपाल प्रहरीमा सेवारत छिन् । जेठी बविता गाउँकै भरतपुर माविमा शिक्षिका छिन् भने ल्याब असिसटेन्ट पढेकी मञ्जु चन्दले गाउँमै मेडिकल हालेकी छिन् । मनिषा पनि सुरक्षा निकायमै जागिर गर्न तयार थिइन् । उनले नेपाल प्रहरीको लिखित परीक्षा पनि उत्तिर्ण गरिसकेकी थिइन् । तर, अन्तर्वार्तामा नाम नआएपछि अहिले उनी जापान जाने तयारीमा छिन् ।
नेपाली सेना र नेपाल प्रहरीमा जानका लागि परिवारबाट दबाब भने थिएन । ‘न बुबाले फौजी बन्नुपर्छ भन्नुभयो न त आमाले नै त्यस्तो भन्नुभएको थियो,’ नेपाली सेनामा कार्यरत अनिताले भनिन्, ‘सुरुमा म नेपाली सेनामा जागिरे भएपछि अन्य चार बहिनीले पनि सोही पेशा रोज्ने मनसाय बनाएका थिए । उनीहरू पनि सेना र प्रहरीमा गएर देशको सेवा गरिरहेका छन् ।’ बविताका अनुसार घरमा छोरीको मात्रै जन्म भए पनि उनका बुवा करबीरले सबैलाई पढाउन जोड दिएका थिए । ‘हामी आठवटै दिदीबहिनीमध्ये कसैले प्रमाणपत्र तह उत्तीर्ण गरेका छौँ भने कसैले स्नातकोत्तरसम्मको अध्ययन गरेका छौँ,’ बविताले भनिन्, ‘त्यसैले लगभग सबै जना जागिरे पनि छौँ ।’
उनका अनुसार लाहुरेको घरमा छोरा भएन भनेर समाजले कुरा काट्दा भने दुख लाग्थ्यो । ‘हाम्रो गाउँको समाज नै यस्तै छ,’ उनले भनिन्, ‘पहिले छोरा भएन छोरी मात्रै भयो भनेर कुरा काट्ने गरिन्थ्यो । अहिले जागिरे भएपछि रिसले कुरा काट्ने गरिन्छ ।’ गाउँमै मेडिकल सञ्चालन गरिरहेकी मञ्जु पनि अहिले लोकसेवाको तयारीमा छिन् । ‘म पनि केही वर्ष त गाउँकै विद्यालयमा शिक्षक थिएँ,’ उनले भनिन्, ‘अहिले शिक्षण पेसा छोडेर मेडिकल चलाइरहेकी छु । विवाह भएर बच्चा भइसके पनि लोकसेवाको तयारी गरिरहेकी छु ।’ उनका अनुसार सबै दिदीबहिनी पढेलेखेका भएर र जागिरे पनि भएकाले दाइभाईकै अभाव भने भएको छैन । ‘हरेक वर्ष तिहारमा भने खल्लो लाग्ने गरेको छ,’ उनले भनिन्, ‘विवाहपछि झन त्यस्तो महसुस हुने रहेछ । सबै महिला दिदीबहिनीहरू टीका लगाउन माइत घर जाने गरेका छन् । हाम्रो घरमा त्यस्तो सम्भव नै छैन ।’
आफ्नो दाइभाइ नभएपछि जेठी बविताले त धेरै वर्षसम्म तिहारमा टीका नै नलगाएको सुनाइन् । ‘आफ्नै दाइभाइ नभए पनि काकाका तीन छोरा थिए,’ उनले भनिन्, ‘तर, मैले त धेरै वर्षसम्म टीका लगाएन । दाइभाइ नभएपछि तिहारको समयमा धेरै नरमाइलो लाग्ने गरेको थियो । पछि बहिनीहरूले जिद्वी गर्न थालेपछि मात्रै टीका लगाएकी छु ।’ पाँच बहिनी सेना–प्रहरीमा जागिरे, एक शिक्षका, एक मेडिकल सञ्चालक र एक जापन जाने तयारीमा भएपछि पर्यो । उनका बुबा करबीरको ७९ वर्षको उमेरमा निधन भयो । आँठमध्ये पाँच छोरीको विवाह गरेर करबीर बिदा भएका छन् । अब ६५ वर्षीया आमा बिनाको हेरचाह गर्ने सम्पूर्ण जिम्मेबारी पनि छोरीहरूमाथि छ ।सिलापत्रबाट