धनगढी: धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा सेवाग्राहीको संख्या बढ्दो छ । स्थापनाको छोटो समयमै सेवाग्राहीको आकर्षण बढाउन सफल चिकित्सालय जनशक्ती र आवश्यक उपकरणको अभावमा गुज्रिरहेको छ । चिकित्सालयमा एकजना निर्देशक बाहेक बिषेशज्ञ चिकित्सक छैनन् । आवश्यक उपकरण समेत चिकित्सालयमा अभाव छन् ।
सातवटै प्रदेशका आयुर्वेद चिकित्सालय सञ्चालन गर्ने निति अनुरुप सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालय स्थापना गरिएको थियो । स्थापनाको करिब ३ बर्षे अवधीमा सेवाग्राहीको आकर्षण बढ्दो छ । पछिल्लो समय दैनिक १ सय देखी १ सय ५० जनासम्म सेवाग्राही आयुर्वेद उपचारका लागी चिकित्सालय पुग्ने गरेका छन् । गत आर्थिक बर्षमा मात्रै चिकित्सालयबाट १४ हजार ७ सय २५ महिला र ११ हजार ९ सय ९७ पुरुष गरी २६ हजार ७ सय २२ जनाले सेवा लिएका थिए । चालु आर्थिक बर्षको ३ महिनामा मात्रै २ हजार ४ सय ९ महिला र २ हजार ५५ पुरुष गरी ४ हजार ४ सय ५८ जनाले सेवा लिएका छन् । चिकित्सालयमा पेट, छाती, कम्मर, लगायतका समस्या लिएर बढीजसो बिरामी आउने गरेका छन् ।
सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयका सूचना अधिकारी सुरेन्द्र शाहीले बिरामी तथा सेवाग्राहीको सङ्ख्या बढ्दै गएका बताए । उनका अनुसार बाथरोग, पाइल्स, फिस्टुला, फिसर लगायतका सेवाका लागि आउने गरेका छन । उनले भने, ‘केही सेवा विस्तार गरेका छौँ । पायल, फिस्टुलाको उपचार सेवा दिएका छौँ । छार सूत्रका विधि पनि सुरु भएका छन। शल्य सेवा विस्तार भएको छैन। दुई पटक विज्ञापन गर्दा पनि कर्मचारी आउनुभएन ।’
हाल चिकित्सालयले २४ घण्टा सेवा दिइरहेको छ । अहिले ७ प्रकारको औषधी चिकित्सालयमै उत्पादन गरी, सशुल्क र शिुल्क फार्मेसी समेत सञ्चालित छ । चिकित्सालयबाट स्नेह स्वदेन शिरोधारा, पञ्चकर्म वस्तिकर्म, वमन, विरचेन, नस्य, स्वर्ण प्राशन, होमियोप्याथी, आइपीडि (अन्तरङ्ग) सेवापनि सुलभ दरमा दिइदै आएको छ । जसबाट सेवाग्राहीहरुले निकै लाभ लिएका छन् । बिस्तारै एलोपेथिक उपचार पद्धतीभन्दा आयुर्वेद उपचार तर्फ आकर्षण बढ्दै छ ।
सेवाग्राही लक्ष्मण साउँदले पछिल्लो समय एलोपेथिक उपचार छोडेर आयुर्वेद तर्फ लागेको बताए । एलोपेथिक उपचार तत्कालका लागी ठिक भएपनि दिगो नरहेछ उनले भने “मेरो ढाड र हात दुख्ने समस्या थियो, नियमित सेकाइका लागी आयुर्वेद चिकित्सालय आइरहेको छु, सुधार भइरहेको छ, मलाई सेवाहरु ठिक लागे ।” अर्का सेवाग्राही भोजराज जोशीले चिकित्सालय अझैँ सुबिधासम्पन्न बन्न नसकेपनि उपलब्ध सेवा राम्रो भएको बताए । “सबैको अन्तिम बिकल्प भनेको आयुर्वेद उपचार हो, प्रसोधित केमिकलयुक्त औषधीले क्षणिक राम्रो गरेपनि पछि असर गर्छ, त्यस कारण आयुर्वेद उपचार उत्तम छ, यसमा सरकारले लगानी गर्न कन्जुस्याँई गर्नु हुन्न ।”
चिकित्सालयका लागी एक सय ११ कर्मचारीको दरबन्दी माग गरिएपनि हाल २६ जना मात्रै कर्मचारी कार्यरत छन् । ५० शैयाको चिकित्सालय भनिएपनि सरकारले त्यो अनुसारको आवश्यक उपकरण र जनशक्ती उपलब्ध गराउन सकेको छैन । जनशक्ती र आवश्यक उपकरण दिन नसकेको सरकारले सरकारले चालु आर्थिक वर्षका लागि एक करोड ५० लाख मात्रै बजेट विनियोजन गरेको छ । ८० लाख कर्मचारीको आवास निर्माण र बाँकी औषधी, उपकरण खरिदका लागि बजेट विनियोजन गरिएको छ । तर, ८० लाख रुपैयाँमा आवास निर्माण नहुने र ७० लाखमा अन्य सल्यक्रियाका लागि आवश्यक उपकरणसमेत खरिद तथा जडान गर्न नसकिने व्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टको तर्क छ । ५० शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक उपकरणको अभाव देखिएको छ । जसका कारण बिरामी भर्नामा समस्या हुने गरेको व्यवस्थापन समितिले बताएको छ । विष्टले भने, ‘उपकरणको लागि बजेट प्रयाप्त छैन। चाहिने बजेट पनि दिएको छैन। आवासका लागि र उपकरणका लागि थोरै बजेट आएको छ । त्यो बजेटले पुग्दैन ।’ चिकित्सालयमा आयुर्वेद चिकित्सक, होमियोप्याथिक चिकित्सक, प्राकृतिक चिकित्सक, रेडियो ग्राफर, ल्याब टेक्निसियन, सहायक कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट, अनमी, वैद्य, स्टाफ नर्स र कविराज गरेर २६ जना मात्र कर्मचारी छन ।
धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले पहिलो कार्यकालमै उद्घाटन गरेका थिए । आफ्नो कार्यकालको पहिलो सिलालेख सहित भवन उद्घाटन गरेका मुख्यमन्त्री शाहले चिकित्सालयको बिकास र बिस्तारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । तर चिकित्सालयले मागेको बजेट समेत काटिदा मुख्यमन्त्रीको प्रतिबद्धता माथी प्रश्न उठेको छ ।