अछाम — उहिलेको तिहार र देउसीमा गाउँभरिका सबै जम्मा हुने, मौलिक शब्द र परिवेशअनुसारका रचना तयार पारेर भट्याउने गरिन्थ्यो । विशेष गरी दाजुभाइ र दिदीबहिनीको पर्व दिपावली भएकाले भाइ र बहिनीबीचको प्रेम र सद्भाव झल्किन्थ्यो । घरबाहिर अर्थात् परदेशमा रहेका दाजुभाइलाई सम्झेर देउसी खेल्ने चलन सुदूरपश्चिम र कर्णालीका गाउँहरूमा व्याप्त थियो । पहिलेको देउसी जहाँ विशुद्ध मनोरञ्जन, तिहारको रौनक र दाजुभाइ दिदीबहिनीका गाथाहरू, अभाव र सम्झनासहितका शब्द रचेर भट्याउने चलन थियो । सुदूरपश्चिम र कर्णाली भेगमा देउडाका टुक्कालाई देउसीमा भट्याउने चलन पनि थियो, जहाँ मौलिकता मात्रै झल्किन्थ्यो ।
अहिले भने सामाजिक सद्भाव र संस्कार झल्काउने त्यस्ता देउसी भैलो गाउँघरमा गुन्जिनै छोडेका छन् । अहिले मादलका ताल र थरीथरी भाकाका देउसी भैलो गीतहरू हराउने अवस्थामा पुगेका छन् । पहिले देउसी भनेपछि सारा गाउँमा एक प्रकारको रमाइलो छाउँथ्यो तर अहिले त खाली हल्ला मात्र भएको महसुस हुने गरेको यहाँका ज्येष्ठ नागरिकको बुझाइ छ । पछिल्लो पुस्ताका युवाहरूले पनि चाडपर्वका बेला विदेशी गीत, नाच र संस्कृति भित्र्याउन लागेका कारण जिल्लाको स्थानीय लोकभाका, भेषभूषाको जगेर्ना गर्ने उद्देश्यले नेपालीको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसी खेल्ने संस्कार हराउन थालेको हो । सुदूरपश्चिम र कर्णालीका बस्तीमा विनोद बाजुरेली र विष्णु माझीको स्वरमा रहेको र तिहारसँगै गुञ्जिने गीत हो, ‘करनाली पुल, नसुकेइ हजारी फूल ।’ यसका केही टुक्काहरू यस्ता छन् :
बहिनी : आइगयो भाइटीका तिहार, हजारी फूल फूली
दाजुभाइ बम्बैका कुना, माइती घरमा डुली ।
दाजु : फोटो हेरी टीका लाउनु, यो साल अवाइ छैन
नरो बैनी तिहार सम्झी, साउ बिदा दिँदैन ।
बहिनी स् सप्तरंगी फूलका माला, उनी राखेकी छु
दाजु आउन्या मूल बाटोमा, कुरी थाकेकी छु ।
दाजु स् वनजंगल घमाइलो होला उही बासन्ना न्याउला
यै साला यत्तिकै भयो, अर्को साला आउला ।
बहिनी स् सबैका दाजुभाइ आउँछन्, भाइटीका तिहार
मेरा दाजु पराइ देशको, आनन्द बिहार ।
दाजु स् दुःखैमा जिन्दगी बित्यो, कर्म हार्या रैछौं
परदेशी भै बस्नु पर्यो, बैनी परदेशै छौं ।
उल्लिखित तिहार विशेष देउडा गीत गुनगुनाउने भने अहिले कम हुन थालेका छन् । पहिले बम्बैमात्रै बढीजसो जाने यहाँका गाउँका दाजुभाइ तेस्रो मुलुक पनि जान थाले, दिदीबहिनी पनि विदेश जान थाले । उहिले देउसी खेल्दै सम्झिने तिहारका यी र यस्तै भाका विदेशमा भएका दाजुभाइ र दिदीबहिनीले सामाजिक संजालको सहारा लिएर आफ्ना भावना पोख्न थालेका छन् । अहिले गाउँको देउसीमा मौलिकता नभएको मंगलसेन–५ का ७५ वर्षीया कपुरे नगार्जी बताउँछन् । ‘पहिले देउसी खेल्दा त्यस्तो भाका, लय र शब्दले मन छुन्थ्यो । त्यसको महत्त्व छुट्टै थियो,’ उनले भने, ‘घर मंगलसेन बजारमा भएर होला, पहिले र अहिलेका देउसीलाई नजिकबाट हेर्ने मौका पाएको छु । पहिलेका देउसी खेल्नेहरू पैसाका लागि खेल्दैन थिए । अहिले त स्कुलको देउसी, समूहको देउसी, क्लबको देउसी भन्दै चन्दा उठाएजस्तो गर्छन् ।’
अहिले मौलिक शब्द रचना गरेर देउसी भट्याउन पनि हराएको उनले बताए । ‘बजारमा आएका, कतिपय सुन्नै नसकिने गीत बजाउँछन् । अझै कसै कसैले त हिन्दी गीत बजाएर देउसी खेल्न आएको देखिन्छ,’ उनले भने, ‘अहिलेकाहरूलाई देउसी, तिहार, भाइटीकाको महत्त्वको चिन्ता देखिंदैन ।’ मंगलसैन नगरपालिका–५ का ७६ वर्षीय जम्मान सिंह भाटलाई पनि अहिलेको देउसी देउसीजस्तै लाग्दैन । ‘पहिले देउसी भनेपछि सारा गाउँमा एक प्रकारको रमाइलो रौनक छाउँथ्यो तर अहिले त खालि हल्ला मात्र भएको महसुस हुन्छ,’ उनले भने ।
पछिल्लो पुस्ताका सबै युवाले चाडपर्वका बेलासमेत विदेशी गीत, नाच र संस्कृति भित्र्याउन लागेका कारण जिल्लाको स्थानीय लोकभाका, भेषभूषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेपालीको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसी संस्कार समेत हराउन थालेको संस्कृतिविद्हरू बताउँछन् ।