धनगढी । आज काग तिहार, बिहान यमराजको दूतका रूपमा कागलाई मीठो(मीठो खान दिएर मनाइँदैछबिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो(मीठो खान दिई खुसी पार्ने चलन छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
कागसम्बन्धी नौ रोचक तथ्यहरू
काग बुद्धिमान चरा हो । १२० भन्दा बढी प्रकारका चराको प्रजातिमा काग सबैभन्दा चतुर हुन्छ । तर कागलाई धेरैले गलत रुपमा लिने गरेका छन् ।
काग चराको कर्भिड्स परिवारमा पर्छ । यो परिवारमा कागबाहेक पनि अन्य कयौं चरा छन् । यसमा पनि एक औंसको पुड्के जे देखि मेक्सिकोमा मात्रै पाइने सानो चरा र ३ पाउन्ड तौल भएको साधारण कौआसम्म पर्दछ । समग्रमा कोर्भिड निकै चलाख हुन्छन् ।
आकारको अनुपातमा कोर्भिडमा मष्तिस्कको आकार हुन्छ । खागरी, काग कौआ यसमै पर्दछन् । मस्तिष्क र शरीरको आकारको अनुपात यसमा चराको होइन बाँदरको जत्रो हुन्छ । करेन्ट बायोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार कागको मस्तिष्क तुलनात्मक रुपमा चिम्पान्जीको जत्रै हुन्छ ।
लोककथामा काग र कौआलाई मान्छेले शताब्दीऔंदेखि चोर, बद्मास, भगवानको सल्लाहकार वा देवता भनेर पनि चिनेका छन् । तर पनि कहिलेकाँही यी चरालाई हामी डरलाग्दो, समस्या उत्पन्न गराउने वा पूर्णतः दूष्टको बिल्ला भिराइदिन्छौं ।
दिमागको सारा शक्ति लगाएर कोर्भिडहरूले के गर्न सक्छन् भन्नेबारे भएको अनुसन्धानका कारण हालैका वर्षहरूमा यो चराको बुद्धिमताबारे मान्छेको धारणा फेरिन थालेको छ । आजको यस लेखमा हामीहरू कागबारे केही रोचक तथ्यहरू तपाईलाई बताउनेछौं ।
१ खाना हत्याउन चतुर तरिका अपनाउँछन्
कागहरु अवसरको ठ्याक्कै प्रयोग गर्न सक्ने र सृजनशीलल हुन्छ । खासगरी खानेकुराको नयाँ स्रोत पत्ता लगाउन वा आफ्नो जीवन सहज बनाउन खाने नयाँ नीति अपनाउने मामिलामा उनीहरु सिपालु हुन्छन् । अमेरिकी कागले आफ्नो आहारको लागि आफैं माछा समात्छन् । केहीले त माछालाई आफ्नो नजिक आकर्षित गर्न पाउरोटी वा अन्य खानेकुरा चारोको रुपमा पनि हाल्छन् ।
कागले अरु जनावरहरूको खाना पनि चोर्छन् । कहिलेकाँही यसले अरु चरालाई गुँडसम्म पछ्याएर वा जनावरलाई छक्याएर पनि खाना चोर्छ । जापानमा कारले कुल्चिएर फुटोस् भनेर कागले ओखरलाई सडकमा राखिदिएको भिडियो आएको थियो ।
२ आफ्नो लागि औजार पनि बनाउँछन्
चिम्पाञ्जीले धमिरा किरालाई समात्न काठको छेस्को प्रयोग गरेको भनेर सन् १९६० को दशकको शुरुमा प्रिमाटोलोजिष्ट जेन गूडअलले भन्दा संसार चकित भएको थियो । औजार प्रयोग गर्ने जीव मान्छे मात्रै हो भन्ने त्यसअघिको धारणा उनले भत्काएकी थिइन् । औजार प्रयोग गर्न निश्चित खालको संज्ञानात्मक परिष्कृतता चाहिन्छ । बाँदरका प्रजाति मात्रै नभएर जंगलमा बस्ने अन्य कयौं जीवनले पनि औजार प्रयोग गर्छन् भन्ने हामीलाई थाहा छ । गैर–बाँदर प्रजातिमा औजारको प्रयोगबारे सबैभन्दा धेरै अध्ययन भएको जीवरचरा कोर्भिड अर्थात काग नै हुन् ।
कयौं कोर्भिडले औजार प्रयोग गर्छन् तर नयाँ कालेडोनियन काग अलि बढी उन्नत छन् । चिम्पाञ्जीजस्तै यसले पनि किरालाई समात्न छेस्का प्रयोग गर्छन् । यसले केही कामका लागि प्राकृतिक रुपमा पाइने छेस्का प्रयोग गर्छन् । तर नयाँ कालेडोनियन कागले भने आफ्ना लागि औजार नै बनाउँछन् । यो भनेको विल्कुल नयाँ कुरा हो । छेस्का, पात वा काडालाई तिखारेर यिनीहरूले आफ्नो लागि औजार बनाउँछन् ।
केही प्रयोगमा यी कागहरूले बल्छी बनाउन लचिलो वस्तुलाई दोबारेर प्रयोग पनि गरेको पाइएको छ । केही अनुसन्धानमा कागले सानो छेस्काले तानेर ठूलो छेस्का हात पारेको देखिएको छ । कामै नलाग्ने दुई वा सोभन्दा बढी वस्तुबाट नयाँ हतियार बनाएको पनि पाइएको छ ।
३ मान्छेको बच्चाकै हाराहारीमा समाधान गर्न सक्छन् गुत्थी
हामीले सानैदेखि कागसम्बन्धी एउटा कथा पढ्दै अनि सुन्दै आएका छौं । त्यो के भने, तिर्खाएको कागले एउटा माटोको गाग्री देख्छ । ग्रागीको पिउँमा थोरै पानी हुन्छ । कागलाई यति धेरै तिर्खा लागेको हुन्छ कि त्यो पानी कसरी खाने भन्ने ध्याउन्नमा उसले आसपासबाट स–साना ढुंगा, गिट्टी चुच्चोमा च्यापेर ल्याउँदै गाग्रीमा खसाल्न थाल्छ । यसै क्रममा अन्ततः ग्रागीको पिउँको पानी उसले पिउन सक्ने गरी माथि आउँछ । कागले पानी पिएर जान्छ ।
कागले यस्तो गर्न सक्छ भनेर लोककथाले मात्रै होइन अनुसन्धानले पनि पूष्टि गरेको छ । रोचक कुरा चाँहि के छ भने कागमा मान्छेको ५ देखि ७ वर्षको बच्चामा जत्तिकै बुद्धि हुन्छ भनेर अध्ययनले देखाएको छ । ‘इन्साइड द एनिमल माइन्ड’ भन्ने बीबीसीको सिरिजमा कागले आठ चरणको पहेली समाधान गरेको थियो । आफ्नो औजार कसरी प्रयोग गर्ने भन्ने कुरा पनि कागले योजना बनाउन सक्छ भनेर करेन्ट जर्नलमा छापिएको एक अध्ययनले भनेको छ ।
४ मृतक चराको अन्त्येष्टि गर्छन्
कुनै कागको मृत्यु भयो भने कागहरूले अन्त्येष्ठीको आयोजना गर्छन् । कहिलेकाँही एक्लै एउटा काग त कहिले समूहले यस्तो र्गछन् । केही केसमा खसेको चरालाई काग कयौं दिनसम्म नियालेर हेरिबस्छन् । उनीहरूले शोक मनाएका हुन् त रु
वाशिङ्गटन विश्वविद्यालयमा कोर्भिड विज्ञ काएली स्वीफ्टले यसको जवाफ हुन सक्छ भनेर भनेकी छिन् । तर कुनै पनि जनावर वा चराको मस्तिष्कमा भावनात्मक रुपमा केह भइरहेको छ भनेर जान्ने कुनै तरिका नभएकोले कागहरू भावनात्मक रुपमा बुद्धिमान हुन्छन् भन्नेमा केही शंका हुन सक्न अनि यसको परीक्षण पनि समस्याकारी हुन सक्ने उनी बताउँछिन् ।
एकलास जंगलमा कोही मृतकको शव देख्यो वा भेट्यो भने अबको शिकार मै त हुने होइन भनेर मान्छे पनि त सर्तक हुन्छ । कागले पनि खतराको सम्भावित स्रोतलाई नियालेर भविष्यमा आफू कसरी सुरक्षित हुन सक्छु भनेर त्यस्तै गरेका हुन सक्ने स्वीफ्ट बताउँछिन् ।
५। काग पनि कुरा काट्छन्
केही खालका कोर्भिडले मान्छेको अनुहार चिन्छन् । विगतमा आफ्नो गुँडको नजिक आएका अनुसन्धातालाई चिनेर कौआ कराउँछ । उनीहरूले जे जस्तो पहिरन लगाएको भएपनि कौआले चिन्ने गरेको अनुसन्धानकर्ता बताउँछन् । कागका यस्ता केही गुण स्वीफ्ट र उनको सहकर्मीले मान्छेको अनुहारप्रति चराले देखाउने प्रतिक्रियाको अध्ययन वा परीक्षणको क्रममा थाहा पाएका थिए ।
अनुसन्धानका लागि जालमा पारेको वा समातेको कौआले खासगरी यस्तो खालको द्वेष राख्ने गरेको थाहा पाएपछि वाशिङ्गटन विश्वविद्यालयमा वन्यजन्तु विज्ञानका प्राध्यापक जोन मार्जलफलेको समूहले यसबारे थप परीक्षण गरेका थिए । अध्ययनमा अनुसन्धानकर्ताहरूले जंगली मान्छेको मुखौटा लगाएका थिए । तर पनि कागले आफ्नो शत्रुलाई चिने । पछिल्लो परीक्षणमा अनुसन्धानकर्ताहरूले मास्क लगाएर मृत काग समातेका थिए । भविष्यमा कागले त्यस्तै खालको मास्क लगाउनेको खेदो गरेको पाइयो । रोचक कुरा चाँहि के थियो भने कागले पूरै शरीरलाई भन्दा पनि अनुहारलाई मात्रै ध्यान दिएको मार्जलफले भनेका छन् ।
अन्य कयौं जवानरले पनि मान्छेको अनुहार चिन्न सक्छन् । उनीहरूको मस्तिष्कमा लामो समयसम्म स्मृति बस्ने अनि आफूहरूमाझ सूचना साटासाट गर्ने भएकोले कागमा यो खुबी स्पष्टै छुट्टिने खालको थियो । वर्षमा एक दुई पटक केही घन्टाका लागि मात्रै मास्क लगाएको मान्छे देखेपनि कागले त्यो अनुहार याद गरेर राखेको थियो । केही वर्षभित्र जंगली मान्छेको मास्क लगाएको मान्छे नजिक पर्दा कराउने चिच्याउने वा गाली गर्ने कागको संख्या बढे ।
सात वर्षमा यो संख्या दोब्बर नै भयो । यसरी कराउने अधिकांश कागलाई त बाँधिएको पनि थिएनन् । न त उनीहरूले मास्क लगाएको मान्छेले उनीहरूलाई नराम्रो लाग्ने केही काम नै गरेका थिए । यसको अर्थ एउटा कागले आफूले पाएको जानकारी परिवारका सदस्य वा अन्य साथी कागलाई भन्ने गरेका थिए । जंगली मान्छेको मास्क लगाउनेले समातेका अधिकांश काग मरिसकेका सन् २०१६ मा एउटा पत्रिकामा क्याट म्याकगोवानले लेखेका थिए ।
६। आफ्नै भाषा हुन्छ कागको
कागको कौं कौँ आवाजसँग त हामी सबै परिचित छौं । तर यिनीहरूको बोलीचालीको आफ्नै भाषा पनि हुन्छ । के तपाईलाई यो कुरा थाहा छ रु ठाउँ अनुसार मान्छेको भिन्न भाषा भए जस्तै कागको पनि फरक फरक भाषा हुन्छ । कम्पनी अफ क्रो एन्ड राभेन्सका लेखक ओर्निथोलोजिष्ट जोन एम। मर्जलफ र टोनी एङ्गेलका अनुसार क्षेत्रअनुसार कागको भाषा पनि फरक हुन्छ । उपत्यकै पिच्छे कागको बोलीचाली फरक हुन सक्छ ।
कागले आफ्नो झुन्ड फेर्न सक्ला रु नयाँ समूहमा समायोजन हुन नयाँ आवाज सिक्न सक्यो भने यसले सो समूहमा मिसिन सक्छ । काग नयाँ झुन्डमा मिसियो भने समूहमा प्रभावशाली सदस्यको नक्कल गरेर कागले भाषा सिक्ने मर्जलफ र एङ्गेलले पुस्तकमा लेखेका छन् ।
७। आजीवन एउटैको भएर बस्छन् काग
काग सामाजिक चरा हो । यो चरा हामीमध्ये कयौंले सोचेको भन्दा बढी परिवारमुखी हुन्छन् । एक पटक कुनै कागिनीको संसर्गमा आएको काग आजिवन उसकै भएर बस्छन् । तर यिनीहरूको पारिवारिक जीवन अलि बढी जटिल हुन सक्छ । काग मोनोगामी भएको स्वीफ्ट लेख्छिन् । सामाजिक रुपमा काग मोनोगामी भएपनि जीनले भने यो बहुगामी वा असभ्य भएको देखाउँछ । केही कागले दोहोर जीवन पनि बाँच्ने कोर्नल ल्याब अफ ओर्निथोलोजीले बताएको छ । परिवारका बीचमा समय छुट्टाएर कागले दुई वटा जीवन जिउन सक्छ ।
८। घरमा सहयोगीको रुपमा काम गर्न जवान काग घरमै बस्छन्
अमेरिकी कागहरूल् बसन्तको शुरुमै छेस्का, खास, प्वाँख आदि लिएर गुड बनाउन थाल्छन् । कसैले आफूलाई हेरिरहेको छ वा नियालिरहेको छ भन्ने लाग्यो भने तिनीहरूले नक्कली गुँड पनि बनाउँछन् । साना कागहरू शुरुका केही महिना अभिभावकमा निर्भर रहन्छन् । तर बाउआमाको गुँडबाट अन्यत्र सरेपनि लामो समयसम्म यिनीहरू परिवारको नजिकमा बस्छन् ।
विस्तारै यिनीहरूले अभिभावकसँग कम समय बिताउँछन् अनि ठूलो झुन्डमा बढी समय बिताउन थाल्छन् । मौसमको परिवर्तनसँग आउने चुनौतीको सामना गर्छन् । यिनीहरू आफ्नो पार्टनर भेट्नु भन्दा अगावै उड्छन् वा आफ्नो छुट्टै ठाउँ बनाउँछन् । कहिलेकाँही घरमै बसेर सहायकको रुपमा बाआमाका नयाँ साना चल्लालाई सघाउने काम गर्ने स्वीफ्ट बताउँछिन् ।
केही वर्षसम्म यिनीहरूले बाउआमालाई साना बच्चा हुर्काउन सघाउँने कर्नेल ल्याबको भनाइ छ । कागको एउटा परिवारमा १५ जनासम्म हुन सक्छ । यसमा पाँच फर फरक वर्षका बच्चाहरू पनि हुन सक्छन् । यस्तो किन हुन्छ भन्ने चाँहि स्पष्ट नभएको स्वस्फ्ट बताउँछिन् ।
९। काग बाठा हुन्छन्, तर अपराजेय हुन्नन्
मान्छेहरू कागलाई बदनाम गर्छन् । यसका अबाञ्छित व्यवहारमा बढी ध्यान दिएर यसका गुणलाई वेवास्ता गर्छन् । कागहरू निकै बाठा हुन्छन् । तर यसो भन्दैमा यी चरा मान्छेबाट सुरक्षित छन् भन्ने चाँहि होइन ।
हवाईएन काग चतुर कोर्भिड हो । तर सन् २००२ मा रोग, हिंस्रक जनावरको शिकार, बास गुम्दै गएको स्थिति र मानव अतिक्रमणका कारण यो विलुप्त भएको घोषणा गरिएको थियो । तर वैज्ञानिकहरूले प्रजनन कार्यक्रमलाई शुरु गर्नपर्याप्त हुने चरालाई बताए । अनि हराउनै लागेको यो प्रजातिको संख्या बढाए ।
काग कहिलेकाँही किसानको खेतबारी र बगैँचामा हमला पनि गर्छ । तर किटाणु वा किरालाई खाएर वा बिउ छरेर वातावरणमा पुर्याउने लाभले यिनीहरूले गर्ने क्षतिको भर्पाई गरिदिन्छ । हरेक जीवको बाँच्ने नैसर्गिक अधिकार छ । हामीमाग काग जस्तो बाठो चरा हुनु हाम्रो सौभाग्यको कुरा हो ।
यसले हामीलाई हाम्रो आफ्नै बौद्धिकताबारे थप सिक्न मद्दत गर्छ अनि हाम्रो आसपासको जीवजन्तुसँग हामी कत्तिको समान छौं भन्नेबारे हामीलाई स्मरण गराउँछ ।