महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनमा काँग्रेसले वडा सभापति प्रकाश चन्दलाई उम्मेदवार बनाउने भएको छ । काँग्रेस कञ्चपुर निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय कमिटीले चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ क्षेत्रीय समितिका सभापति केशब चन्दले उप निर्वाचनमा वडा सभापति प्रकाश चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको जानकारी दिए । ‘क्षेत्रीय समितिको बैठकबाट उप निर्वाचनमा प्रकाश चन्दलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको छ’ उनले भने ।
काँग्रेसमा वडा अध्यक्षका लागि वडा सभापति चन्द सहित १३ जना आकाँक्षी थिए । २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित काँग्रेसका महेन्द्र खड्काको निधन भएपछि मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो । एमालेले यस अघि नै उम्मेदवारको टुङ्गो लगाइ सकेको छ । एमालेले पूर्व प्रधानाध्यापक बहादुर चन्दलाई उम्मेदवार बनाएको छ । एमालेले शनिबार चन्दलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरि सकेको छ । २०७९ को निर्वाचनमा काँग्रेसले पहिलो पटक भीनपा ६ मा जित हात पारेको थियो । त्यस अघिका तीन निर्वाचन एमालेले जितेको थियो ।