बझाङ: गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै खुसीयाली मनाए भने केहीले भने बोट मर्ने बेला भएको हुनसक्ने टिप्पणी गरे । अहिले दुई साता भइसकेको छ, स्याउ हलक्कै बढेर फलमा आकार देखिन थालेको छ । “दुई सातामा अस्वाभाविक तरिकाले बढेको स्याउले सबैलाई अचम्मै बनायो”, खप्तडछान्ना गाउँपालिका–५ का पिठातोलाका स्याउ किसान हरिप्रसाद जोशीले भने, “अहिलेसम्म स्याउको आकार देखिए पनि स्वाद भने आएको छैन ।” यस्तो बेमौसमी स्याउ आफूले कहिल्यै नदेखेको उनले बताए ।
जोशीले भने, “गत चैतमा टुसाउन सुरु भएको स्याउ पुलेर, फलेर असारमा सकियो । त्यसपछिका तीन महिना बोटमा पात मात्रै रहन्छ । अहिले तीन महिनापछि भने स्याउ सिधै लटरम्म फलेको देखियो ।” पाँच वर्षअघि कृषि ज्ञान केन्द्रबाट ल्याएर रोपेको स्याउ असारमा रूखमा कुहिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष फलेको स्याउ असारमा कुहिएर बोट मर्ने अवस्थामा छन् । फल फुटेर खेर गयो । त्यो बेला कृषि विज्ञले घामपानी नमिलेर समस्या देखिएको बताएका थिए ।” अहिले बेमौसममा स्याउ लटरम्म फलेका जोशीले बताए ।
खप्तडछान्ना गाउँपालिकाका कृषि अधिकृत भूमिराज खत्रीले स्याउमा मात्रै नभई हरेक बालीनाली, फलफूल तथा तरकारीमा जलवायु परिवर्तनको असर देखा पर्न थालेको बताए । उनले भने, “बेसिजनमा स्याउ फल्नु भनेको तापक्रम वृद्धि भएकाले हो । पहिलेपहिले यो समयसम्म निकै जाडो बढिसकेको हुन्थ्यो । आजभोलि अझै गर्मी घटेको छैन ।” गर्मीका कारण फेरि पालुवा पलाएर स्याउ फूलेको र फलेको हुनसक्ने कृषि अधिकृत खत्रीले बताए । “पहिले यो समयमा छान्ना क्षेत्रमै मान्छे ढाक्ने हिउँ पर्दथ्यो । अहिले हिउँ देखिँदैन । तापक्रम धेरै बढेकाले हिमालमा पनि हिउँ पर्न कम हुँदै गएको छ । यसले कृषि उत्पादनमा समस्या देखिन थालेको छ”, उनले भने ।