धनगढी । कञ्चनपुरमा मृत अवस्थामा भेटिएका दम्पती हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको प्रहरीले दुई दर्जन बढीलाई सोधपुछ गरेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका १ बिनबारीका स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
प्रहरीले अहिलेसम्म घटनामा संलग्नहरूबारे कुनै तथ्य पत्ता लगाउन सकेको छैन । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै चाँडै घटनामा संलग्नहरू पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश रेग्मीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म दुई दर्जन बढीलाई घटनाबारे सोधपुछ गरिसकेको छ । अहिलेसम्म त्यस्तो केही पत्ता लागेको छैन’, उनले भने, ‘हामी विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेका छौं ।’
दम्पतीले बिहीबारमात्रै बैंकबाट पैसा निकालेका थिए । प्रहरीका अनुसार हिजै रमेशले कैलाली र कञ्चनपुरबाट उखुको अनुदान रकम निकालेका थिए । सोही रकमका कारण दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो, तर उक्त रकम घरमै भेटिएको प्रहरीले जनाएको छ ।
पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्नेतर्फ पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतकको फोन प्रहरीले बरामद गरेको छ । सोही फोनको आधारमा रहेर पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले केही दिनभित्रै घटनामा संलग्न पक्राउ गर्नेगरी अनुसन्धान गरिरहेको बताए । उनले कल डिटेल रेकर्ड सीडीआर मार्फत समेत अनुसन्धान भइरहेको बताए । सीडीआरबाट पनि अनुसन्धान भइरहेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट दम्पती घटनाको सूक्ष्म अध्ययन गर्न कुकुरसहित प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।
कञ्चनपुर लालझाडी गाउँपालिका( १ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाले नास्ता पसल चलाउँदै आएका थिए । गाउँको घरभन्दा झन्डै डेढ किलोमिटर टाढा सानो घरमा नास्ता पसल चलाउँदै आएका बडायक दम्पतीसँग राति ८ः३० बजेसम्म उनका छोरा पनि थिए । बुवासँग आफू रहँदासम्म केही नभएको, तर भोलिपल्ट एकै पटक बुवाआमाको शव देखेको छोराले प्रहरीलाई बयान दिएका छन् ।
‘गर्मीका कारण उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए । एक्कासि घटना भएको देखिन्छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘घटना प्रकृति हेर्दा पहिले श्रीमतीलाई हानेर श्रीमानमाथि आक्रमण भएको देखिन्छ ।
कमलाको शव सुत्ने खाट नजिकै बरण्डामा रगताम्मे अवस्थामा थियो । रमेशको शव आँगनमा थियो । ढलेको थियो । टाउकोबाट अत्यधिक रगत बगेको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
प्रहरी अधिकारीका अनुसार रमेशको चोट हेर्दा उनले आक्रमणकारीसँग केहीबेर प्रतिवाद गरेको देखिन्छ । प्रहरीले हत्या भएको आशङ्का गरे पनि हत्यामा प्रयोग भएका हतियारहरू अझै बरामद भएको छैन ।