दार्चुला — मालिकार्जुन गाउँपालिका–४ हुनैनाथको मन्दिरमा पूर्वाधार निर्माण र मन्दिरनजिकै खसेको पहिरो नियन्त्रणबारे स्थानीयसँग सांसदले छलफल गरेका छन् । मंगलबार सांसदसहितका स्थानीय जनप्रतिनिधि र प्राविधिक टोलीले पहिरो निरीक्षण गरी व्यवस्थापनका लागि स्थानीयसँग छलफल गरेका हुन् । मन्दिर नजिकको पहिरोको दार्चुलाबाट प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशसभा सदस्य विक्रमसिंह धामी, सहरी विकास मन्त्रालयअन्तर्गतको सघन विकास कार्यालय डोटी र वन मन्त्रालयअन्तर्गतको बृहत् जलाधार कार्यालय पाटनको प्राविधिक टोलीले निरीक्षण गरेका हुन् ।
हुनैनाथ मन्दिर पर्यटन पूर्वाधार विकास र मन्दिरको पहिरो नियन्त्रणका लागि चालू आर्थिक वर्षमा २ करोड बजेट छुट्याइएको छ । चालू आर्थिक वर्षमा हुनैनाथमा सञ्चालन हुने परियोजना निर्माण र कार्यान्वयनबारे स्थानीय सरोकारवालाहरूसँग प्राविधिक टोलीलाई राखेर छलफल गरिएको प्रतिनिधिसभा सदस्य बडूले बताए । बजेट छुट्याइने तर कार्यान्वयन नहुने अवस्थालाई ध्यानमा राख्दै विशेष प्राथमिकताका साथ योजना कार्यान्वयनका लागि डीपीआर बन्नुअघि स्थानीयको राय–सुझाव लिनका लागि छलफल भएको सांसद बडूले बताए । ‘प्राविधिक टोलीलाई साथमै लिएर पहिरोको अवस्थाका बारेमा निरीक्षण गराई यसका लागि आवश्यक डीपीआर तयार गर्न भनिएको छ,’ उनले भने ।
पहिरो निरीक्षण तथा सरोकारवालासँग छलफल कार्यक्रममा संघीय र प्रदेश सांसदसहित जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, मालिकार्जुन गाउँपालिकाका जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालय डोटीरबृहत् जलाधार कार्यालय पाटनका प्रतिनिधि तथा प्राविधिकहरू, मन्दिर व्यवस्थापन समितिका पदाधिकारीलगायत स्थानीयको सहभागिता रहेको थियो ।