धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले संविधानमा आवश्यक संशोधन गरि सोही अनुसार कानुन निर्माण गर्ने अवस्था रहेको बताएका छन् ।
कैलालीको धनगढीमा दुई दिनसम्म सञ्चालन भएको नेपाल शिक्षक सङ्घ महासचिव र सचिव स्तरीय राष्ट्रिय भेला समापन समारोहका पूर्व मन्त्री देउवाले देशका ठूला दुई दल मिलेर सरकार सञ्चालन गर्नुको एउटा उद्देश्य संविधान संशोधन पनि रहेको बताएका थिए । शिक्षामा पनि थुप्रै समस्या रहेको भन्दै संविधान संशोधन मार्फत ती समस्याहरू हल गर्नुपर्नेमा उनले जोड दिए ।
‘अहिले नेपाली काँग्रेस र नेकपा एमाले दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार सञ्चालन भइरहेको छ । दुई राजनीतिक दलका बिचमा राष्ट्रिय हितको रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिने र संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेको सबल र दुर्लभ पक्ष तथा जटिलताको समीक्षा गरि राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गरि सोही अनुसार कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने कुरा छ’, उनले भने, ‘अहिले शिक्षाको लागि आवश्यक संविधान संशोधन गर्नु पर्ने कार्यको लबिङ शिक्षक सङ्घले खेल्नु पर्छ भने नेतृत्वदायी भूमिका नेपाली काँग्रेसले खेल्नु पर्छ । म यसका लागि प्रयास गर्नेछु ।
२०२८ सालको शिक्षा ऐनलाई सङ्घीय संरचना अनुसार संशोधन गरी गर्न, अस्थायी, करार, राहत, बाल विकास, साबिक उच्च मावि, प्राविधिक धार, विद्यालय कर्मचारीलाई सबैलाई एक पटकलाई आवश्यक प्रबन्ध गरि स्थायी गरि एकै थरीका शिक्षकको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनले बताए । विद्यालय शिक्षा विधेयकका कतिपय प्रावधानलाई सांसदबाट परिमार्जन गरेर अघि बढ्ने सहमति अनुसार अगाडी बढ्नु पर्नेमा उनले जोड दिएका थिए ।