धनगढी । सुदूरपश्चिम प्रदेशका चार जिल्लाबाट अवैध सामान बरामद गरिएको छ । मंगलबार कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट अवैध सामान बरामद गरिएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका – २ फन पार्क नजिक, उपमहानगरपालिका – ४ पुरानो भन्सार रोड, उपमहानगरपालिका – १० जुगेडा, उपमहानगरपालिका – १९ बहुलियाघाट, भजनी नगरपालिका – ३ पिरनी, टीकापुर नगरपालिका – ८ श्रीलंका, टीकापुर नगरपालिका – ९ बालुवा स्थित सडक खण्ड र गौरीगंगा नगरपालिका – ४ राजीपुरबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उक्त स्थानबाट ४ लाख ३४ हजार ९२८ रुपैयाँ बराबरको प्याज, चिनी, सुर्ती, मसला, मोबाइलको ग्लास, मोबाइलको कभर, मोबाइलको डिस्प्ले, प्लास्टिकका भाडा, स्टिलका कप ,कचौरा, चिया छान्नि , ग्याँस चुलो, पानी तान्ने मोटर, बोइलर कुखुरा, मोटरसाइकल लगायतका सामानहरू बरामद गरिएको छ ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – १० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका – १७ मझगाउ, साईबा, दोधारा चाँदनी नगरपालिका – ६ संगम चोक र पुनर्वास नगरपालिका – ४ कार्गिलडाडाबाट ८९ हजार ५१० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । जसअन्तर्गत प्याज, चिनी, गुड, सुट पिस, पटाका, आलु, मटर, किराना लगायतका सामानहरू रहेको प्रहरीले जनाएको छ ।
बैतडीको दशरथ चन्द नगरपालिका – १० अदर पिण्डबाट पनि अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य ३२ हजार १२५ रुपैयाँ बराबरको चिनी, मिस्री, गुड, खाने तेल, चना, जिरा, बिडी, बेसन, मिठाई लगायतका सामानहरू बरामद गरिएको छ ।
यस्तै दार्चुलाको महाकाली नगरपालिका – ४ बसपार्क र मालिकार्जुन गाउँपालिका – १ मेलखेतबाट अबैंध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका ४० हजार ६९५ रुपैयाँ बराबरको चिनी, मिस्री, खाने तेल, बिस्कुट, मिठाई, बिडी लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।