अछाम — सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नु पर्ने बाध्यताले दुर्गमका ज्येष्ठ नागरिकले सास्ती भोग्नु परेको छ । बैंकबाट नै भत्ता लिँदा दुरुपयोग हुने सम्भावना कम भए पनि विकट ठाउँबाट बैंकसम्म आइपुग्न भने कठिन हुने गरेको ज्येष्ठ नागरिक बताउँछन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट बदमासी भएको भन्दै लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिने नीति बनाए पनि भत्ता लिन सदरमुकाम नै पुग्नु पर्ने भएकाले वृद्ध तथा अशक्तले सास्ती व्यहोर्नु परेको हो । पहाडी क्षेत्रमा भौगोलिक कठिनाइले गर्दा सदरमुकामस्थित बैंक र स्थानीय तहको केन्द्रमा भएका बैंकमा खाता खोलेर भत्ता पाउन सास्ती खेपिरहनु परेको वृद्धवृद्धाहरूले दुखेसो पोख्न थालेका छन् ।
यसअघि गाविसको कार्यालयबाटै परिचयपत्रका आधारमा सामाजिक सेवा भत्ता वितरण गर्दै आएको सरकारले अहिले बैंकिङ प्रणाली अनिवार्य गरेपछि वृद्धवृृद्धाहरूलाई सास्ती भएको हो । यो प्रक्रियाअन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूले नेपालका ‘क’ र ‘ख’ वर्गका बैंकमा अनिवार्य खाता खोल्नु पर्छ । सरकारले सामाजिक सुरक्षा भत्ताबापतको रकम सोही खातामा सिधै जम्मा गरिदिने व्यवस्था गरेको छ । कागजी प्रक्रियाबारे अनभिज्ञ रहने उनीहरूलाई बैंकमा खाता खोल्ने मेसो पहिल्याउनै हम्मे हम्मे पर्ने गरेको छ । ‘सुरुमा खाता खोल्न बोकिएर जानुपर्ने र भत्ता बुझ््न पनि बोकिएरै जानु पर्छ यस्तो भत्ता निल्नु न ओकेल्नु भएको छ,’ मंगलसेन नगरपालिका–७ की ८२ वर्षीया टिपुरी जैसीले भनिन्, ‘सुविधा दियो कि सरकारले दुःख दियो बुझ्नै सकिएन ।’ चाडबाडका बेला भत्ता लिन आउँदा झन् धेरै दुःख पाइने गरेको मंगलसेन नगरपालिका– ३ का ८३ वर्षीय जम्मान ढोलीले बताए । ‘लाइनमा बस्न सकिँदैन । ढाड दुख्छ । कहाँ पाइन्छ, पत्ता लगाउनै सकिँदैन,’ नजिकैको कुर्सीमा थचक्क बस्दै उनले थपे, ‘बुढो मान्छेलाई सहुलियतका नाममा झन् दुःख दियो सरकारले ।’
यसअघिसम्म उनले चौमासिक रूपमा भत्ता साविकको गाविस कार्यालयबाट बुझ्थे । त्यो सजिलो पनि थियो । ‘सबै जना भेला हुन्थ्यौं । पालैपालो गाविसबाटै पैसा बुझिन्थ्यो,’ उनले भने, ‘आफ्नै घर नजिक भत्ता पाइने चलन राम्रो थियो । अचेल त यति हिंड्नुपर्छ, भत्ता लिने दिन नजिक आउँदा झस्किन्छु ।’ भत्ता पाएको रकमले चाडबाड मनाउने सोचेर चार घण्टा हिंडेर मंगलसेन पुगेका उनी बैंकको भीडमा स्वास फेर्न मुस्किल भएको बताउँछन् । धेरै विकटमा भएका ज्येष्ठ नागरिकका लागि भने अछामका स्थानीय तहले सम्बन्धित बैंकसँगको सहकार्यमा वडामा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेका छन् । प्रत्येक तीन महिनाको एकपटक वडा कार्यालयमा गएर बैंकसम्म आउन नसक्नेका लागि भत्ता वितरण गर्ने गरेको चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले बताए ।
‘प्रभु बैंकको शाखा गाउँपालिकाको केन्द्रमा छ । बैंक र वडाको दूरी धेरै छ । साविकको गाविस नै एक वडा बनाइएकाले ज्येष्ठ नागरिक भत्ता लिनेहरूको सहजताका लागि वडामा जान्छौं,’ उनले भने, ‘नगद नै बोकेर जानु पर्ने भएकाले सुरक्षाका हिसाबले पनि गाह्रो छ । सुरक्षाकर्मीको साथमा भए पनि नगद बोक्दा समस्या नै हुन्छ ।’ वडा कार्यालयबाट टोलको दूरी पनि टाढा भएकाले धेरै जसो छुट्ने गरेको थापाले बताए । टोली गएर वितरण गर्ने बेला छुटेकाहरूलाई बैंकबाट नै दिने गरेको उनले बताए । भौगलिक रूपमा विकट रहेको ढकारी गाउँपालिकाले पनि बैंक र सुरक्षाकर्मीको सहयोगमा वडामा गएर नै भत्ता वितरण गरिरहेको गाउँपालिकाका सूचना अधिकारी विक्रम बोहराले बताए ।
‘एक वडामा कम्तीमा १५ जना ज्येष्ठ नागरिक वडासम्म पनि पुग्न नसक्ने अवस्थाका छन् । उनीहरूको हकमा घरमै पुगेर पनि दिने गरेका छौं,’ उनले भने, ‘प्रहरी चौकीमा आफैंमा पर्याप्त जनशक्ति छैन । नगद बोकेर जाँदा हामीले पनि खासै सुरक्षाको प्रत्याभूति गर्न सकेका छैनौं । अहिलेसम्म अप्रिय घटना भएको त छैन । तर डर भने छ ।’ उनका अनुसार गाउँपालिकाका वडा नम्बर १, ३, ५, ६, ७ का धेरै जसो टोलमा एक दिन हिंडेर नै भत्ता वितरण गर्नु पर्ने अवस्था रहेको छ ।कान्तिपुरबाट