धनगढी — बुधबारको बिहान । दुर्गम बाजुराको जुगाडाका ८० वर्षीय दिलबहादुर हमालको घरमा अमेरिकी नागरिक ७० वर्षीय जिम्म्यारी ओरेल्ली आफ्ना दुबै छोरा आर्टिटेक्ट इन्जिनियर रहेका बिरेन ओरेल्ली र विद्यालय प्रशासक रहेका सिन ओरेल्लीलाई साथमै लिएर टुप्लुक्क आइपुगे । वृद्धावस्था र बिमारले थलिएका हमालले सुरुमा त ओरेल्लीलाई चिन्नै सकेनन् । तर एकैछिनको चिनापर्चीपछि उनीहरु दुबै भावविव्हल भए । आपसमा अंगालो मारे, दुबैका आँखाबाट बरर आँशुका थोपाहरु झरे । बुवासँगै रहेका छोराहरु पनि भावुक भए ।
४७ वर्षअघि ईन्जिनियर ओरेल्लीले पिस कोर स्वयंसेवकको ५४औं ब्याजको स्वयंसेवकका रुपमा बाजुराको भौनेरामा नौ महिना बसेर काम गरेका थिए । नौ महिनाको भौनेरा बसाइका क्रममा उनी स्थानीयका परिवारका सदस्य जस्तै भएर काम गरेका थिए । कतिपय चिनेजानेका व्यक्तिहरुको निधन भइसकेको उनले भौनेरा पुगेर थाहा पाए । तर त्यस बेलाका प्रधानपञ्चसमेत रहेका गाउँका अगुवा दिलबहादुर हमाल घरमै थलिएको थाहा पाएपछि ओरेल्ली हमाललाई भेट्न उनकै घरमा पुगेका थिए । भेटमा उनीहरु दुबैले ४७ वर्षअघिको त्यो बेलाको समय र अवस्था सम्झिए । हमाललाई त्यही बेलाको सम्झना दिलाउने स्केच फोटो उपहार दिए ।अमेरिकी स्वयम्सेवीका रुपमा भौनेरामा बस्दा ओरेल्लीले भौनेरामा बुढीगंगा नदीमाथि झोलुङ्गे पुल निर्माणमा प्राविधिक सहयोग गरेका थिए । भौनेरामा झोलुङ्गे पुल निर्माण भएपछि मात्रै बाजुराको दक्षिण पश्चिमी क्षेत्र सदरमुकाम मार्तडीसँग जोडिएको थियो ।
ओरेल्लीकै प्राविधिक अगुवाईमा निर्माण भएको उक्त पुल बुढीगंगामा ०७७ सालमा आएको बाढीले बगायो । ‘आफूले निर्माण गराएको झोलुङ्गे पुल बाढीले बगाएको देखेर उहाँ भावुक हुनुभयो । उहाँका आँखा रसाएका मात्र थिएनन्, परेलाले आँशुका थोपा थाम्नै सकेका थिएनन्,’ बडिमालिका नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्मर महतले भने, ‘अहिलेसम्म पनि यस ठाउँमा पक्की पुल नबनेको, मोटरबाटो सञ्चालन हुन नसकेको देखेर उहाँले झन् धेरै नराम्रो मान्नुभयो ।’ वडाध्यक्ष महतका अनुसार पुल नबन्दासम्म डोरी वारिपारि रुखमा बाँधेर सदरमुकाम आवतजावत गर्थे । कैयौंले ज्यान गुमाएका थिए । महतले ओरेल्लीलाई नेपाल बोलाएर भौनेरामा पुनर्मिलन गराउने चाँजोपाँजो मिलाएका हुन् ।
सरकारी सेवानिवृत्तिपछि हाल अमेरिकामै होटल सञ्चालन गरेर पर्यटन व्यवसायमा संलग्न रहेका ओरेल्ली ४७ वर्षअघि आफूले सेवा गरेको ठाउँबारे आफ्ना छोराहरुलाई पनि स्थलगत जानकारी गराउन चाहन्थे । त्यसैले बिरेन र सिनलाई आफूसँगै नेपाल ल्याएका थिए । हवाई जहाजबाट कोल्टी हुँदै सदरमकाम मार्तडीसम्मको कठिन र जोखिमयूक्त सडक यातायातबाट भौनेरा पुगेका ओरेल्ली मंगलबार भौनेरा पुग्दा वडा नम्बर २ का बासिन्दाहरु हरेक घरका सदस्य उनको स्वागतमा उर्लिए। एकजना विदेशी नागरिक ४७ वर्षपछि सम्झेर अनेक सास्ती र कष्ट सहँदै दुर्गमको गाउँमा पुग्दा स्थानीय वासिन्दाहरु नहुने कुरै रहेन ।
हाल अमेरिकामा पर्यटन व्यवसायी ओरेल्लीले आफू मात्र ३ दिनअघि मात्र बाजुरा फर्किएकोले अहिलेको बाजुरा र यहाँका आवश्यकता तथा चुनौतीहरूको ज्ञान बच्चाको जस्तै भएको प्रतिक्रिया दिए । ‘तर मैले देखेको छु कि बाजुरामा बलियो पर्यटन उद्योगको लागि जबरजस्त सम्भावना छ । किन भने यहाँ साहसिक पर्यटक, धार्मिक पर्यटक, शैक्षिक ९कृषि पर्यटन० पर्यटकहरूको लागि अविश्वसनीय स्रोतहरु छन् ९बडीमालिका, त्रिवेणी पाटन, बुढीनन्दा, रैनिसान र सैपाल हिमाल, उत्कृष्ट ट्रेकिङ मार्गहरू र राफ्टिङ०,’ ओरेल्लीले भने ‘तर पर्यटन यहाँको अर्थतन्त्रको बलियो अंश बन्नुअघि बाजुराले धेरै चुनौतीहरु पार गर्नुपर्छ ।’
उनले बाजुरामा सडकको अवस्था खराब रहेको बताए । ‘कोल्टी जाने सडक धेरै खराब छ । यो वास्तवमा लज्जाजनक हो,’ उनले भने, ‘कोल्टीसम्मको हवाई यातायात नियमित हुन आवश्यक छ । साथै टिकट खरिद प्रणालीलाई सुधार्न जरुरी छ ।’ उनले आफू अहिले पनि अमेरिकामा बसेर नेपाल र बाजुराको पर्यटन विकासका सम्भावनाहरुको प्रचारमा जुटिरहेको बताए ।