धनगढी । कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको काम पूरा गर्न ढिलाइ भइरहेको छ । बजेट अपुगका कारण थप गरिएको समयमा पनि हुलाकीको काम पूरा गर्न सम्भव नभएको हो । हुलाकी स्तरोन्नतिको कुल लागत एक अर्ब ६१ करोड रुपियाँ रहे पनि सरकारले एकमुस्ट बजेट उपलब्ध गराएको छैन । चालु आर्थिक वर्षमा ३२ करोड रुपियाँ हुलाकी राजमार्ग स्तरोन्नतिका लागि पठाइएको थियो । जसमध्ये २२ करोड रुपियाँ गत आवकै बक्यौता भुक्तानीमा सकिएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ । सडक विस्तारको काम समयमा पुरा नहुदा कैलालीको दक्षिण क्षेत्रका नागरिकले भने दुख पाएका छन् ।
कैलालीमा आव २०७७÷७८ देखि हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र बाँकी अरू क्षेत्रमा दुई लेनको राजमार्ग बनिरहेको छ । धनगढीको गुरही चोक (क्याम्पस रोड चोक) देखि सत्तीसम्म ६९ किलोमिटर र लम्की–टीकापुर–खक्रौलासम्मको २९.७ किलोमिटरमा राजमार्ग स्तरोन्नतिका लागि काम भइरहेको छ । धनगढीको गुरही चोकदेखि पूर्व सत्तीसम्मको सडकखण्डको ४३ किलोमिटरमा कालोपत्रे बनिसकेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । यस खण्डको कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिकाको केही क्षेत्रमा गरेर ३६ किलोमिटरमा स्तरोन्नतिको काम बाँकी हुदाँ सो क्षेत्रमा ओहोर– दोहर गर्न नागरिले निक्कै कष्ट भोग्नुपरेको कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ बसन्ताका तिर्थ चौधरीको दुखेसो गरेका छन् । उनले सडक समयमा मर्मत नहुदाँ आवतजानतमा निकै समस्इा भएको बताए ।
कैलालीमा हुलाकी सडक विस्तारको काम ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीय आक्रोसित छन् । सरकारी बेवास्ताका कारण निर्माण कम्पनीले ढिलासुस्ती गर्दा समयमा काम सम्पन्न गर्न चासो नदिइएको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलवारीकी पार्वति ओलीको गुनासो छ । खनेर छाडिएको सडकका कारण दर्जनौँ स्थानमा खाल्टा–खुल्टी परेका छन् । ती खाल्टा–खुल्टीलाई समेत पुर्नेतर्फ वास्ता नगर्दा सवारी आवतजावतमा समस्या मात्र होइन दुर्घटनाको जोखिमसमेत बढाएको उनको भनाई छ । खनेर छाडेको सडकका कारण वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर हिँड्नु पर्दा आजित भएको उनले बबताइन् ।
धनगढी–भजनी–सत्ती खण्डमा चार र लम्की–टीकापुर–खक्रौला खण्डमा तीन प्याकेज बनाएर स्तरोन्नतिको कार्य भइरहेको छ । विभिन्न निर्माण कम्पनीले काम गरिरहेका छन् । यी खण्डमा राजमार्ग स्तरोन्नतिका लागि तोकिएको समयावधि सकिएपछि कुनै कम्पनीको आगामी पुस, कुनैको जेठसम्म म्याद थप गरिएको छ । कैलालीको विभिन्न क्षेत्रमा हुलाकी राजमार्ग जीर्ण बनेको छ । कैलालीमा चार तहमा कालोपत्रेको काम पूरा भइसके पनि अन्यमा काम गर्न अझै बाँकी रहेको हुलाकी सडक आयोजनाका इन्जीनियर प्रमोद चौधरीले बताए । उनले बजेट अपुग भएकाले चालु आवभित्र स्तरोन्नतिको काम पूरा हुने सम्भावना कम रहेको बताए ।
गणतन्त्र स्थापनासँगै आर्थिक वर्ष २०६६÷६७ मा निर्माण प्रारम्भ भएको हुलाकी राजमार्ग राष्ट्रिय गौरवको आयोजना हो । यसको उद्देश्य नै पूर्वमा झापाको भद्रपुर (मेची पुल) देखि पश्चिममा कञ्चनपुरको दैजीसम्मका जिल्ला सदरमुकाम र घनाबस्तीलाई जोड्न एक हजार आठ सय ५७ किलोमिटर सडक विस्तार गरी सन्तुलित विकास गर्नु हो, तर यहि आयोजनाको केहि ठाउँमा अहिले पनि काम शुरु नहुदा तराईवासी लाईसमृद्धिको सपना पुरा हुन बर्षा लाग्ने देखिन्छ ।