कञ्चनपुर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापनमा परेका परिवारलाई छिट्टै पुनःस्थापन गरिने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–९ स्थित पर्यटकीय क्षेत्र भम्केपानीमा कांग्रेस कञ्चनपुरले आज आयोजना गरेको जनप्रतिनिधि भेटघाटमा उनले पूर्वन्यायाधिशको संयोजकत्वमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जग्गा समस्या समाधान आयोग गठन भई आवश्यक काम अगाडि बढाइएको बताए । “अधिकार सम्पन्न आयोग गठन गरिएको छ”, उनले भने, “वास्तविक निकुञ्ज विस्थापित परिवारलाई पुनःस्थापनाको आयोगले टुङ्गो लगाउनेछ ।” कृषि उत्पादनलाई बढाउनका लागि महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गतको नहर निर्माण गति दिइने बताए । “देशकै गौरवको योजना भएकाले जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन”, नेता साउदले भन्नुभयो, “निर्धारित समयभित्रै काम पूरा गर्न हरसम्भव प्रयास गर्छौं ।”
कांग्रेसका अर्का केन्द्रीय सदस्य नृप ओडले पार्टीको सयदिने अभियानलाई जिल्लाका नौवटै स्थानीय तहका ९२ वटै वडामा पुर्याइने बताए ।