धनगढी: मगंलबार राती डडेल्धुरामा बस दुर्घटना प्रती नेकपा एमाले सुदुरपश्चिम प्रदेशले दुख ब्यक्त गरेको छ । पार्टी प्रदेश सचिव रण बहादुर चन्दले एक बिज्ञप्ती जारी गर्दै महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको बस दुर्घटनामा पर्नु दुखद रहेको जनाएका छन् । बिज्ञप्तीमा बस दुर्घटनाबाट मृत्यु भएका ५ जना प्रती श्रदाञ्जली ब्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । घाइते भएकाहरुको उपचारमा सहजीकरण गर्नुका साथै यथासिघ्र उपचार गर्नुपर्ने पार्टीले माग गरेको छ ।
मगंलबार राती महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको थियोे । पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो । यस्तै पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको पनि मृत्यु भइसकेको छ । दुर्घटनामा गम्भीर घाइते बस चालक बिरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी ल्याइएको हो । उनिहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।