काठमाडौं । प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । र, घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो ।
छानबिनका क्रममा ‘केही कैफियत’ देखिएपछि शाहीलाई हिरासतमै राखेर थप अनुसन्धान गर्ने निर्णयमा प्रहरी पुगेको हो । उनीलाई पक्राउ गर्न अदालतले अनुमति दिइसकेको ललितपुर प्रहरीका एक उच्च अधिकृतले पनि बताए । ‘हनी ट्यापिङ’मा पारेर असुली गर्ने समूहसँग उनको शंकास्पद सम्बन्ध रहेको पाइएपछि उनलाई निलम्बन गर्न समेत सिफारिस गरिएको थियो । ललितपुर प्रहरीले अनुसन्धान गरिरहेका बेला प्रहरी प्रधान कार्यालय, नक्सालले समेत यो मामलामा जाँच गर्न एक जना प्रहरी वरिष्ठ उपरीक्षक को नेतृत्वमा समिति बनाएको थियो ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्राचार्यले घटनाको छानबिनका लागि ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा बनेको समितिले प्रतिवेदन बुझाएको र त्यसलाई कार्यान्वयन गर्ने काम भइरहेको अनलाइनखबरलाई बताइन् । ‘हेडक्वार्टरबाट समेत समिति बनेको थियो, ललितपुरमा पनि समिति बनेको थियो, त्यसको आधारमा अनुसन्धान भइरहेको छ’, उनले अनलाइनखबरसँग भनिन् । ललितपुर प्रहरीका अधिकृतहरुका अनुसार, उनले शंकास्पद गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको अरोप छ । प्रहरीका अनुसार, शाही नेतृत्वको प्रहरी टोलीले ७ असोजमा एक जना व्यवसायीलाई शान्ति सुरक्षा असर पुर्याएको कसुरमा पक्राउ गरेको थियो । पछि बलात्कार मुद्दामा फसाइदिने भन्दै लेनदेन गरेको आरोप छ ।
उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ । प्रहरीले यो घटनामा मुछिएका शाहीका सवारी चालक समेत रहेका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । प्रकरणमा मुछिएका थप केही व्यक्ति समेत फरार रहेको बताइएको छ । शाही जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत् रहँदा समेत विवादमा मुछिएकी थिइन् ।
२०८० सालको माघ महिनामा एक जना प्रहरी जवान राजेन्द्र नाथले एउटा भिडियो सार्वजनिक गर्दै शाहीले दिएको यातनाका कारण आफू जागिर छाड्न बाध्य भएको बताएका थिए । शाही त्यसबेला जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा मुद्दा शाखामा कार्यरत् थिइन् । यो मामलामा टिप्पणी गरेको विषयलाई लिएर शाहीले स्थानीय पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवरविरुद्ध विद्युतीय् अपराधको कसुर गरेको आरोपमा उजुरी दिएकी थिइन् र दुवै जना पक्राउ परेका थिए ।