धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी थपिएको बताएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आज आयोजना गरेको समारोहमा उहाँले सङ्घीयतामा प्रहरीको जिम्मेबारी बढेको बताएका हुन् । सीमित स्रोत, साधनका बावजुद प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरिरहेको मुख्यमन्त्रीको भनाइ छ ।
“कानुनले दिएको जिम्मेवारी प्रहरीले सौहार्दतापूर्वक निर्वाह गरिरहेको छ”, उनले भने, “कानुन कार्यान्वयनको क्रममा प्रहरी अविचिलित रुपमा अगाडि बढ्दै छ ।” शान्ति, सुरक्षा, अमनचयन कायमदेखि लिएर विपत्मा परेकाहरुको खोज, उद्धारमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेको मुख्यमन्त्री शाहको भनाइ छ ।
सङ्घीय सरकारले कतिपय ऐन, कानुन नबनाउँदा प्रदेशले समस्या भोगिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रहरी समायोजन हुन्छ वा हुन्न, त्यो विषयमा सङ्घ सरकारले जवाफ दिनुपर्ने औंल्याए । प्रहरी समायोजन हुन्छ भने सङ्घ सरकारले चाँडै प्रक्रिया अगाडि बढाउनुपर्ने र समायोजन हुँदैन भने विकल्प खोज्नुपर्ने मुख्यमन्त्री शाहको जिकिर छ ।
उहाँले न्यायका लागि जनता सबैभन्दा पहिले प्रहरीसमक्ष पुग्ने गरेको भन्दै थपे, “प्रहरीले आफ्नो कर्तव्य र दायित्व भुल्नुहुँदैन ।” कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक श्यामकृष्ण अधिकारीले नेपाल प्रहरीलाई प्रदेश सरकारबाट धेरै सहयोग भइरहेको भन्दै आभार व्यक्त गरे ।