धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रहरी समायोजन नभएमा विकल्प दिनुपर्ने बताएका छन् । उनले संघीयता लागु भएको यति लामो समय बितिसक्दा पनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई काम गर्न समस्या भएको बताएका हुन् ।
संघीय सरकारले बनाउनुपर्ने प्रहरी समायोजन जस्ता महत्त्वपूर्ण कानुन नबनेका कारण काम गर्न चुनौती थपिएको मुख्यमन्त्री शाहले बताए । ६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा प्रहरी समायोजन नगर्नुको कारणबारे केन्द्रीय नेतृत्वले स्पष्ट पार्नुपर्ने बताए ।
शाहले प्रदेश सरकारले आफ्नो स्रोत, साधनबाट संघीय सरकार अन्तरगतका कार्यालयलाई सहयोग गर्दै आएको बताउँदै त्यस्ता संरचनाको उद्घाटन र निरीक्षण गरेर मात्र संघीयता बलियो नहुने उल्लेख गरे । ६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेशले दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान गनुका साथै विभिन्न सांस्कृतिक प्रस्तुती समेत देखाएको थियो ।