डडेल्धुराः घाँटी थिचेर हत्या गरिएकी जिल्लाको अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया आरती भट्टराईको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ। भजाइनल स्वाबलाई महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। उनका अनुसार डडेल्धुरा अस्पतालमा भएको पोष्टमार्टमका क्रममा चिकित्सकहरूले निकालेको स्वाबलाई मंगलबार परीक्षणका लागि काठमाडौं पठाइएको हो।
‘डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्टले घाँटी थिच्दा श्वासप्रस्वास प्रणाली बन्द भएर आरतीको मृत्यु भएको देखाएको छ,’ प्रहरी निरीक्षक बमले भने, ‘थप अनुसन्धानका लागि हामीले आरतीको भजाइनल स्वाबलाई आज काठमाडौं पठाइसकेका छौँ।’ परीक्षण रिपोर्ट आएपनि बलात्कार भएको वा नभएकोबारे थाहा हुने उनले जानकारी दिए। भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरिसकेको छ।
टेकबहादुर पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने व्यापारी हुन्। भण्डारीले भट्टराईको घाँटी थिचेर हत्या गरेको स्वीकार गरिसकेका छन्। असोज २६ गते पोखरा बजारमा आरतीको शव प्लास्टिकको बोरामा राखेर फ्याँकेको अवस्थामा भेटिएको थियो।