कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारका समस्या समाधानका लागि गठित आयोगले काम थालेको छ। आयोगका नवनियुक्त अध्यक्ष पूर्वन्यायाधीश जयानन्द पनेरुले विस्थापित परिवार बस्दै आएको ढक्का शिविर पुगी प्रारम्भिक जानकारी लिनुभएको छ। निकुञ्जबाट विस्थापित सङ्घर्ष समितिका पदाधिकारीहरुसँग आयोगका अध्यक्ष पनेरुले छलफल गरी समस्या समाधानका लागि आवश्यक राय लिए। विभिन्न समयमा गठन भएका आयोगका प्रतिवेदन अध्ययन गरी तीन महिनाभित्र नेपाल सरकारलाई प्रतिवेदन बुझाइने अध्यक्ष पनेरुले जानकारी दिए।
विस्थापित परिवार, जनप्रतिनिधि, आयोगका पूर्वपदाधिकारीका रायसुझाव र स्थलगत अवलोकनका क्रममा देखिएका विषय प्रतिवेदनमा समावेश गरिने उनको भनाइ छ। उनले भने, वास्तविक निकुञ्ज विस्थापित परिवारको पहिचान गरी पुनःस्थापना र मुआब्जाका लागि सिफारिससहित प्रतिवेदन बुझाउँछौँ। निकुञ्ज पीडित सङ्घर्ष समितिका सचिव गोविन्द नेपालीले वास्तविक र प्रतिवेदनमा छुटेका परिवारलाई प्रमाणित गरी पुनःस्थापना गर्नुपर्ने सुझाव दिए। विगतमा आयोगले पुनःस्थापनाका लागि छनोट गरेका हैसियत बिग्रेका वनको जग्गामा पुनःस्थापना गराउनुपर्ने उनको माग छ।