धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले गाडी मर्मत र इन्धनको नाममा ७४ लाख रुपैयाँ खर्च गरेको छ। गत वर्ष सो नगरपालिकाले इन्धनको नाममा ४७ लाख र गाडी मर्मतको नाममा २७ लाख रुपैयाँ खर्च गरेको हो।
नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक वर्षमा १० करोड ७६ लाख बढी तलब भत्ता बुझेका छन्। नगरपालिकाबाट दुई सय ६८ जनाले १० करोड ७६ लाख तीन हजार रुपैयाँ तलब भत्ता बुझेका हुन्। नगरपालिकाले गत आर्थिक वर्ष २०८०र८१ मा उक्त रकम तलबमा खर्च गरेको हो।
यसका साथै बिजुली–बत्तीमा ६ लाख ३५ हजार खर्च गरेको पाइएको छ। नगरप्रमुख देवीदत्त कडेल, नगर उप–प्रमुख भोजबहादुर बम र प्रमुख प्रशासकीय अधिकृतसहतिका जनप्रतिनिधि र कर्मचारीले गत वर्ष १० करोड ७६ लाख तीन हजार रुपैयाँ तलब–भत्ता बुझेका हुन्।
आर्थिक वर्ष २०८० र ८१ मा १० करोड ७० लाख ४८ हजार रुपैयाँ तलब र पाँच लाख ५५ हजार रुपैयाँ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भत्ता बुझेका छन्। नगरप्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि र कर्मचारीहरुले एक वर्षमा ४७ लाख रुपैयाँको इन्धन प्रयोग गरेका छन्। नगर उपप्रमुख बमको धनगढीमा रहेको घरसम्म दैनिक ओहोर–दोहार गर्न सरकारी गाडी र इन्धन प्रयोग हुँदै आएको छ।
तीनवटा जिप, दुई टिप्पर, एउटा जेसिबी, एउटा रोलर, एउटा ट्याक्टर र ३७ वटा मोटरसाइकल मर्मतको नाममा २७ लाख रुपैयाँ खर्च गरिएको छ। गौरीगंगा नगरपालिकाले गत आर्थिक वर्ष ६ लाख ३५ हजारको बिजुली प्रयोग गरेको पाइएको छ। गौरीगंगा नगरपालिकाले गत वर्ष ११ करोड ५६ लाख ३८ हजार रुपैयाँ तलब, भत्ता, इन्धन, बिजुली र गाडी मर्मतको नाममा खर्च गरेको पाइएको छ।