धनगढी: सुदूरपश्चिमको मौलिक चाडमध्ये सबैभन्दा ठूलो हो, गौरा पर्व । गौरा पर्व कहिले भाद्र शुक्ल पक्षमा पर्छ भने कहिले भाद्र कृष्ण पक्षमा पर्छ । भाद्र शुक्ल पक्षमा पर्ने गौरालाई उज्याली गौरा भनिन्छ । कृष्ण पक्षमा पर्ने गौरालाई अँधेरी (अन्यारी गौरा) गौरा भनिन्छ । उजेली गौरालाई धार्मिक महत्वको दृष्टिले शुभ, फलदायी र राम्रो भनिन्छ । गौरा पर्वमा पूजाअर्चनासँगै देवी देवताका धार्मिक गीत गाउने र देउडा खेल्ने चलन छ । पञ्चमीका दिन पाँचथरी गेडागुडी अर्थात् विरुडा भिजाएर सुरु हुने गौरा पर्व विभिन्न प्रक्रिया पूरा गर्दै सामान्यतया पाँच दिनसम्म मनाउने गरिन्छ । यस पर्वमा शिव र पार्वातीको प्रेम तथा विवाहलाई स्मरण गरिन्छ ।
तर, सुदूरपश्चिममै मनाइने एउटा अर्को गौरा पर्व पनि छ । जो दसैँको पहिलो दिन अर्थात् घटस्थापनाबाट सुरु हुन्छ । उक्त गौरालाई भनिन्छ, द्याँची गौरा । बैतडीको सुर्नया गाउँपालिका– ढोले, सिगास गाउँपालिकाको चौखाम, बझाङको बित्थडचीर गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्मका सबै गाउँ र बुंगल नगरपालिकाका विभिन्न स्थानमा द्याँची गौरा मनाउने प्रचलन छ । ती ठाउँबाट बसाइ सरेकाहरूले अन्यत्र पनि द्याँची गौरा मनाउने गरेका छन् । संस्कृतिका जानकार तथा केदार माध्यमिक विद्यालय बित्थडका प्रधानाध्यापक मुरलीधर अवस्थीका अनुसार भदौमा मनाइने गौरालाई लोली गौरा भनिन्छ भने दसैँको समयमा मनाइने गौरालाई ललिता गौरा भन्ने गरिन्छ ।
‘आश्विन शुक्ल पक्षमा मनाइने द्याँची गौरामा विरुडाको कुनै महत्व छैन,’ उनले भने, ‘घटस्थापनाको दिन गौरा घर र आ–आफ्नो घरमा विरुडाको सट्टा जमरा राख्ने गरिन्छ । पञ्चमीका दिन अर्थात् दसैँको पाँच दिनअघि नै गौरा घरको जमरा काटेर सुरुमा गौरामा चढाउने चलन छ । त्यसपछि धामीले सबैको शिरमा लगाइदिने गरेका छन् । घरमा राखेको जमरा भने दसैँकै दिन काटेर लाउने गरिन्छ ।’ आश्विन शुल्क पञ्चमीका दिन द्याँची गौरा मनाउनुको कारण भने रोचक छ । ‘यी ठाउँमा पनि पहिले भदौमै गौरा मनाउने गरिन्थ्यो,’ संस्कृतिका जानकार अवस्थीले भने, ‘तर, भदौमा हुने गौराको समयमा जहिले पनि कि मृत्यु त कि जन्मको जुठो परेर गौरा छुट्ने गरेको थियो । जुठो परेर सातौँ पटकसम्म गौरा मनाउन नपाइएपछि देउता ९धामी काँपेर०ले आश्विन शुल्क पक्षमा गौरा पर्व मनाउन भनेका थिए भन्ने मान्यता छ । सोही समयदेखि दसैँसँगै गौरा पनि मनाउन सुरु गरिएको हो ।’
बैतडीको सुर्नाया गाउँपालिका–८ ढोलेका स्थानीय लालसिंह बोहराका अनुसार विवाहित महिलाहरूले आश्विन शुक्ल पञ्चमीमा ब्रत बसेर गौरा पुज्ने चलन छ । ‘अन्य ठाउँमा भदौमै गौराको पूजन गरेपछि दुवधागो धारण गर्ने चलन रहेकोमा हाम्रोमा भने आश्विनमा मात्रै दुवोधागो लगाउने चलन छ,’ उनले भने । उनका अनुसार शिवका उपासकहरूले भदौमा गौरा मनाउने र भगवतीका उपासकहरूले आश्विन शुक्ल पक्षमा गौरा मनाउने चलन रहेको छ । द्याँची गौराको अवसरमा बझाङको स्याडीमा रहेको भगवती मन्दिरमा ठूलो जात्रा पनि लाग्ने गरेको छ ।