नेपालगन्ज: दसैँको अवसरमा नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्नेहरु बढ्दै गएका छन् । भाकल गरेकाहरुको भाकल पुरा भएपछि र धामी झाँक्रिको काम गर्नेहरुले हरेक वर्षको बडादसैँको नवमी र चैते दसैँको नवमीको दिनमा जिब्रो छेड्ने बागेश्वरी मन्दिरमा आउने परम्परा रहिआएको छ ।
हरेक वर्ष करिव २०० बढी नेपाली र भारतीय हिन्दु धर्मावलम्बीले जिब्रो छेडेर मन्दिरमा दर्शन गर्न आउनेगरेको बागेश्वरी मन्दीरका मूल पुरोहित चन्द्रनाथ योगीले बताए । उनले नवमीका दिन नेपाल र भारत दुबै देशका भक्तहरुले आफ्नो जिब्रो काटेर चढाउने, जिब्रो र छातिमा त्रिशुल रोपेर दिनभरी मन्दिरको परिक्रमा गर्नेलगायतका कामहरु गरेको बताए । भारत बाबागन्जका रामनरेश वर्माले आफुले चैते दसैँको नवमी र दसैँको नवमीमा धेरै पटक जिब्रो छेडेर बागेश्वरी देवीको दर्शन गरेको बताउनुभयो । उहाँले यहाँ आएर गरेको भाकल धेरै पटक पुरा भएकाले आफूले खुसी भएर जिब्रो छेडेको बताए ।