धनगढी । बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन् । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए । डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको मिश्रले बताए ।
उनकाअनुसार स्थानीयले जोशीलाई महाकाली पारी भारततर्फबाट नियन्त्रणमा लिएका थिए । स्थानीयले दाम्लोले बाँधेर जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । मंगोला थरकी युवती शुक्रबार बिहान ४ बजे पानी ल्याउने भन्दै जर्किन(प्लास्टिकको ग्यालन) लिएर घरबाट निस्किएकी थिइन् तर दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए । बेपत्ता किशोरीको अवस्था अज्ञात रहेको छ । उनीहरुले चौकी इन्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन् । दुवै जनाबीच विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेको थियो । प्रहरीकाअनुसार युवतीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला परेको छ ।
शनिबार बिहान बैतडी पुगाइएका जोशीको जिल्ला अस्पतालमा उपचार भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुंगानाले घटनाबारे अनुसन्धान भइरहेको बताए । ढुंगानाले बेपत्ता युवतीको खोजी कार्य समेत भइरहेको बताए । पक्राउ परेका प्रहरी हवल्दार जोशीले ती युवतीसँग आफ्नो चिनजान र कुराकानी हुने गरेको बताएपनि बेपत्ता परेको विषयमा जानकारी नभएको दाबी गरेका छन् । युवती बेपत्ता भएको घटनामा चौकी इन्चार्ज पक्राउ परेपछि त्यहाँ कार्यरत अन्य प्रहरी समेत जिल्ला तानिएका छन् । प्रहरी निरीक्षक ढुंगानाले चौकीमा कार्यरत एक जना प्रहरी सहायक हवल्दार र दुई जना प्रहरी जवानलाई जिल्ला झिकाइएको बताए । उनीहरुको ठाउँमा जिल्ला प्रहरी कार्यालयबाट नयाँ प्रहरी खटाइएको छ ।