धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले हरियाली प्रबद्र्धन सगैं नागरिकहरुलाई बनबाट आर्थिक आय आर्जन गराउने उद्देश्य सहित सामुदायिक बनमा बिभिन्न मसालाजन्य बोट बिरुवाहरु बृक्षारोपण अभियान थालेको छ । सामुदायिक बनमा आर्थिक लाभ हुने खालका बिरुवा रोप्ने अभियान थालेको नगरपालिकाले हजारौँ बिरुवा रोपिसकेको छ । चिउरी, बेल, कागती, तेजपत्ता, अमला, उन्नत जातका घाँसहरु, विजय साल लगायतका बिरुवा रोपिएपछि भविश्यमा समुदायले निकै आर्थिक लाभ लिन पाउने छन् ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ पहरियामा रहेको श्री ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुह मार्फत पालिकाले हजारौँ बोट बिरुवा रोपेको छ । पहरिया तथा दोमिल्ला क्षेत्र मौरी पालनको पकेट क्षेत्र रहेकाले मह उत्पादनमा सहज गराउन हजारौँ चिउरीका बोट रोपिएको बनका अध्यक्ष ईश्वर बहादुर बुढाले बताए । उनका अनुसार चिउरीका साथै बेल, कागती, तेजपत्ता, अमला, उन्नत जातका घाँसहरु, विजय साल लगायतका विरुवाहरु रोपिएका छन् । ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुह मार्फत वन क्षेत्रको ६० हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको बुढाले बताए । उनले एक महिनामा २० हजार बेल, ७ हजार विभिन्न मसला प्रजातीका विरुवा, २५ सय चिउरीको विरुवा, १० हजार कागती, २ हजार अमलाका बोट रोपिएको बताए। अहिले ४ प्रजातीको नेपियर घाँस पनि बनमा लगाउनुका साथै फुलका बिरुवा सोत रोप्ने तयारी थालिएको छ ।
जिल्लाको कान्छो नगरपालिका रहेको कृष्णपुर आर्थिक रुपमा बलियो छैन । अन्य पालिका जस्तै बजेट नहुँदा यि र यस्ता कार्यक्रम ल्याएर स्थानियलाई आर्थिक रुपमा बलियो बनाउन खोजिएको नगरपालिकाले जनाएको छ । ऐश्वर्या सामुदायिक बनमा रोपिएका बिभिन्न मसलाजन्य तथा अन्य बिरुवाले भविश्यमा समुदायको आर्थिक उपार्जनमा मद्दत पुग्ने अपेक्षा लिइएको छ । उक्त विरुवाहरु पालिकाको केही अनुदानमा दिएको छ । सब डिविजन वन कार्यालय बाणीलाई प्रति बोट १० रुपैँया उपलब्ध गराएको कृष्णपुरले बिरुवा लगाउनका लागी सामुदायिक बनलाई ३ लाख रकम उपलब्ध गराएको थियो ।
हामीले सव डिभिजन बनलाई प्रतिबोट १० रुपयाँ उपलब्ध गरायौँ नगरपालिकाका मेयर हेमराज ओझाले भने “सब डिभिजन कार्यालयले बोट हुर्काइसकेपछि सामुदायिक बनले बृक्षारोपण गरेको छ त्यसका लागी हामीले ३ लाख रुपयाँ उपलब्ध गराएका थियौँ, बन भित्र चरिचरण पुर्ण रुपमा बन्द गराएका छौँ, यि बिरुवाको संरक्षण गर्ने दायित्व समुदायको हो र भोली लाभ लिनेपनि समुदायलेनै हो ।” मौरीको पकेट क्षेत्र रहेको पहरिया तथा दोमिल्लाका नागरिकलाई मौरि पालनका लागी चिउरी लाभदायक हुने मेयर ओझाले बताए । यि सगैं अमला, तेजपत्ता लगायत मसलाका बिरुवाले भोली कच्चा पदार्थ उत्पादन गर्ने उनको भनाई छ । समुदायलाई लाभ हुने खालका बिरुवा रोपिएको बताउँदै यसको सरंक्षणमा ध्यान दिन उनले आग्रह गरे ।
सामुदायिक बनमा उन्नत जातका बाँसहरु पनि लगाइएको जनाएको छ । सामुदायिक बन क्षेत्रमा बृक्षारोपण गरिएपछि चरिचरण पुर्ण रुपमा बन्द गरिएको छ । समुदायको लगानी बढिरहने तर बनबाट आर्थिक लाभ लिन नसकिएको स्थितीमा पालिकाले ल्याएको कार्यक्रमबाट भविश्यमा लाभ मिल्ने स्थानिय दामोदर जोशीले अपेक्षा लिए । घाँस, कागती, अमला, बेल लगायत बृक्षारोपण भएपछि भविश्यमा बिक्रि वितरण गेर समुदायले आर्थिक लाभ लिन सक्ने उनको बिश्वास छ ।यो कार्यक्रमले एका तर्फ बन जोगिनुका साथै अर्को तर्फ समुदायलाई आर्थिक रुपमा बलियो समेत बनाउने उनको भनाई छ ।
आन्तरिक आम्दानी निकै न्युन भएको कृष्णपुर नगरपालिकाले बिकासका काममा समेत आर्थिक मित्तब्ययिता अपनाई थोरै बजेटमा देखिने खालका काम गर्ने निति अपनाएको छ । यसै स्वरुप नागरिकलाई आत्मनिर्भर बनाउनका लागी बनमा बृक्षारोपण गरेको हो । अहिले रोपिएका बिरुवाले भविश्यमा राम्रै प्रतिफल दिने छ । त्यसका लागी समुदायले बिरुवाको शुरक्षा र अपनत्व ग्रहण गर्न जरुरी छ ।