कञ्चनपुर- कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख बढी नगदसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-९ ब्रम्हदेवबाट भारत उत्तराखण्डको चम्पावत जिल्लास्थित टनकपुरका स्थानीय अभिशेक गुप्ता १२ लाख ७४ हजार २२० भारु र ५ लाख १३ हजार नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरीको ब्रम्हदेवस्थित बिओपीले मंगलबार साँझ उक्त रकम बरामद गरेको हो । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका एसपी खगेन्द्रबहादुर चन्दले सो रकमको स्रोत खुलाउन नसकेपछि बरामद गरेर राजश्व अनुसन्धान विभागमा पठाइएको बताए ।
बरामद गरिएको रकम, भारतीय नम्बरको स्कुटर र भारतीय नागरिकलाई कोहलपुरमा रहेको राजश्व अनुसन्धान विभाग पठाइएको उनले बताए ।