कञ्चनपुर — दसैंमा घर फर्किनेको चाप बढेपछि कञ्चनपुरको गड्डाचौकी नाकामा जाँचका लागि कुकुर पनि प्रयोग गरिएको छ । सोमबारदेखि नाकामा दुई वटा कुकुरको प्रयोग गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीको केनाईन शाखाबाट शेरा र लैला नामका कुकुर ल्याइएको हो । दुवै कुकुरले गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकामा आलोपालो जाँच गर्नेछन् ।
‘आज दिनभरि गड्डाचौकीमा जाँच गरियो,’ एसपी जोशीले भने, ‘भोली गौरीफण्टामा जाँच गरिनेछ ।’ भीडभाडका बेला लागु औषध तथा अन्य अवैध मालसामान भित्रिन सक्ने भएकाले कुकुरको प्रयोग गरिएको हो । गड्डाचौकी सोमबार खटाइएको कुकुरले एउटाले विस्फोटक पदार्थ र अर्कोले लागु औषध पहिचान गर्छन् ।