धनगढी: स्वतन्त्र विद्यार्थी युनियन केएमसीले ‘स्टार्टअप आइडिया प्रतियोगिता २०८१’को आयोजना गर्ने भएको छ। विद्यार्थीलाई उद्यम व्यापार र स्वरोजगारसँग जोड्नका लागि उक्त प्रतियोगिता गरिने भएको हो। उद्यम, व्यापार, कृषि, पर्यटन र विज्ञान लगायतका जुनसुकै विषय र क्षेत्रसँग सम्बन्धित रहेर पनि प्रतियोगितामा सहभागी हुन सकिने कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशीले बताएका छन्। आफूले तयार पारेको योजना उपलब्ध साधन स्रोतबाट सम्भव छ या छैन। त्यसको आधारसहित प्रस्तुत गर्नुपर्ने उनले बताएका छन्।
अध्यक्ष जोशीले भने, ‘प्रत्येक व्यक्तिमा केही न केही सम्भावना हुने र उक्त सम्भावनालाई अरू समक्ष कसरी प्रस्तुत गर्ने र व्यक्ति भित्रका विचार दृष्टिकोण र भिजनलाई प्रयोग गरी समाज र राष्ट्रलाई योगदान हुने गरी यो प्रतियोगिता आयोजना गर्न लागेका छौँ।’ प्रतियोगितामा एकल योजना पनि बनाउन सकिनेछ भने बढीमा चार जनाको समूह बनाउन पाइनेछ। एकल योजना वा दुई जनाको समूहमा दुवै जना स्नातक वा स्नातकोत्तर तहको नियमित विद्यार्थी हुनुपर्नेछ र तीन जनाभन्दा बढीको समूहमा दुई जना अनिवार्य स्नातक र स्नातकोत्तर तहको नियमित विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ।
योजना तयार गर्नुपर्ने आधारहरू
योजनाको नाम र स्थान, योजनाको पृष्ठभूमि, योजनाको दीर्घकालीन उद्देश्य, वस्तु तथा सेवाको वितरण, योजनाको लक्षित समूह, योजनाले अर्थतन्त्र वातावरण परम्परा र संस्कृतिमा कस्तो असर गर्छ लगायतका आधारमा रहेर योजना तयार गर्नुपर्ने आयोजकले जनाएको छ। यस्तै योजनालाई सार्थकता दिने आधारहरू, योजनामा लाग्ने लगानी, लगानी सङ्कलन न गर्न सकिने माध्यम, योजनाबाट रोजगार प्राप्त गर्ने व्यक्ति सङ्ख्या, योजनाले देशको अर्थतन्त्रमा गर्ने असर र कुनै कारण काममा असफलता आउने अवस्था आयो भने के गर्ने लगायतका आधारमा टेकेर योजना तयार गर्नुपर्ने स्वतन्त्र विद्यार्थी युनियन केएमसीका सचिव सन्तोष पन्तले बताए।
केएमसी स्टार्टअप प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार र द्वितीय हुनेलाई २५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ। साथै प्रतियोगितामा सहभागी उत्कृष्ट पाँच योजनालाई सुदूरपश्चिम विश्वविद्यालय इन्क्युवेसन सेन्टरले माग गरेको व्यावसायिक योजनामा पेस गर्न सहयोग गरिनेछ। जसबाट व्यक्तिले चाहेको योजनाको मापदण्ड अनुसार मूल्याङ्कन गरी पाँच वर्षसम्म कुनै ब्याज नलाग्ने गरी पाँच लाखसम्मको सहयोग पाउन सकिने स्ववियु अध्यक्ष यमराज जोशीले बताए। प्रतियोगितामा सहभागी हुनका लागि आउने कार्तिक १४ गतेसम्म योजनाको सफ्ट कपीसहित टिम दर्ता गर्नुपर्नेछ। टिम दर्ताका लागि एक हजार शुल्क लाग्ने र कार्तिक २५ गतेसम्म सर्ट लिस्ट गरी ३० गतेभित्र फाइनल हुने जनाइएको छ।
प्रतियोगितामा योजनाको सम्पूर्ण विवरणसहित आफ्नो प्रस्तुति राख्नुपर्नेछ भने एकल अथवा सामूहिक रूपमा भाग लिन सकिनेछ। टिममा बढीमा चार जना मात्र हुनुपर्ने जनाइएको छ।