धनगढी: करिब ६ महिना अघि साँझको समयमा रक्सी खाएर छिमेकीको घरभित्र पसेको भन्दै रामस्वरुप चौधरीलाई प्रहरीले पक्राउ ग¥यो । कैलालीको गोदावरी नगरपालिका – ९ सेहरीका चौधरीले साँझको समयमा रक्सी खाएर घरभित्र पसेको छिमेकीको उजुरीको आधारमा प्रहरीले उनलाई यही वैशाख ३ गते पक्राउ गरेको थियो । छोरालाई प्रहरीले पक्राउ गरेर लगेपछि आमा कलावती चौधरी र बुवा रामप्रसाद चौधरीमाथि बज्रपात आइलाग्यो । नगरपालिकाकै वडा नं. ७ हरैयामा रहेको एउटा क्रेसर उद्योगमा काम गर्ने रामप्रसादलाई स्थानीय तथा अन्य व्यक्तिहरूले पनि गिज्याउन थाले । उनलाई काम गर्न समेत अप्ठ्यारो भइरहेको अवस्था थियो ।
यता आमा कलावतीलाई पनि स्थानीयहरूले विभिन्न वहानामा दुःख दिने, नानाथरी कुरा गर्ने लगायतका कार्यहरू गर्न थाले । राजनीतिक रूपमा पनि सक्रिय भएकी कलावतीले कसैसँग कुरा गर्दा पनि उनीमाथि हुँदै नभएको आरोप लाग्ने गर्न थाल्यो । श्रीमतीको व्यवहारको बारेमा बुझेका रामप्रसादले भने कलावतीलाई कुनै पनि कुरामा रोकटोक गरेका थिएनन् । छोरालाई प्रहरीले पक्राउ गरेर लगेपछि कतैबाट छोरालाई छुटाउन सकिन्छ की भनेर निरन्तर प्रयासरत चौधरी दम्पतीले कतैबाट पनि सहयोग पाउन सकेनन् । छिमेकीसँग मुद्दा फिर्ता लिन हारगुहार गरे, विभिन्न राजनीतिक दलतिर पनि सहयोग मागे । श्रीमान् र छोराको कमाइले जेनतेन चलिरहेको कलावतीको परिवार एक जनाको भरमा मात्रै टिक्न गाह्रो थियो । त्यसैले पनि घरको एक्लो छोरो जेल जाँदा चौधरी सम्पत्तिलाई बढी पीडा परेको थियो ।
छोरालाई ३ वर्षको जेल सजाय भएपछि भने उनीहरू थप पीडामा परे । छोराको चिन्ताले रामप्रसाद पनि गलिसकेका थिए । जसका कारण यही भदौ २७ गते उनले प्राण त्यागे । छोरा जेलमा परेको दुःख का बिचमा घरमा अलिअलि भए पनि कमाउने श्रीमानले समेत छोडेर जाँदा भने कलावतीलाई झन् बज्रपात प¥यो । घरमा बुहारीसँगै बसिरहेकी कलावतीले रुदै भनिन् ‘छोरा भएको भए पनि मलाई त्यति धेरै समस्या हुने थिएन । जसले मेरो छोरालाई फसाए, अहिले उनीहरूले मलाई पनि नहुने आरोप लगाइरहेका छन् । अब त घरमा पनि कमाउने कोही छैनन्, कसरी दैनिकी गुजारा गर्ने भन्ने चिन्ता छ ।’ उनले श्रीमान् घरमा हुँदा सम्म जसोतसो घर खर्च चलाई रहेको भए पनि अब भने कसरी जिउने भन्ने चिन्ता लागेको बताइन् । ‘मेरो सहारा भन्ने कोही छैन, अब यो ठाउँमा म हिडौ, कसरी बसौँ भन्ने लाग्छ’ उनले भनिन् ‘मेरो छोरालाई कसैले निकाल्दिएको भए मलाई त्यही जस हुन्थ्यो ।’
स्थानीय गीता कुमारी साउँदले कलावतीको अवस्था एकदमै नाजुक रहेको बताइन् । उनले आफूले देखे अनुसार पहिला भने कलावतीको अवस्था राम्रै रहेको बताइन् । ‘कमैया मुक्त हुनुहुन्छ, पहिले छोरा र श्रीमान् हुँदा अवस्था राम्रै थियो, छोरा र बुढाले कमाउँदा जेनतेन चलिहरेको थियो’ उनले भनिन् ‘तर अहिले भने अवस्था एकदमै नाजुक छ, घरमा कोही छैन कमाउने, जमिन पनि थोरै छ ।’ उनले विपन्न अवस्था भएकी कलावतीलाई सहयोग गरिदिन आग्रह गरिन । कमैया प्रथाबाट मुक्त भएकी कलावतीको सोही वडाको धनचौरीमा ३ कट्टा जमिन छ । उक्त जमिन पनि अर्काले बनाइरहेको छ । साहुको पैसा नबुझाए सम्म उक्त जमिन पनि कलावतीले जोत्न नपाउने भएकी छन् । सेहरीमा भने उनको घर बास मात्रै रहेको छ । आर्थिक रूपमा त्यसै पनि विपन्न रहेको कलावतीको परिवारलाई फेरि ऋण थपिएको छ । छोरालाई जेलबाट छुटाउने प्रयास र बुढालाई बचाउन खोज्ने प्रयासका बिच उनले करिब ३ लाख ऋण निकालेकी थिइन ।
तर न उनको छोरा निकाल्ने प्रयासले सफल बन्यो न त बुढालाई बचाउने प्रयासले नै सार्थकता पायो । घरमा कमाउने कोही नभएर दैनिकी कसरी गुजारा गर्ने भन्ने चिन्ताका बिच थपिएको ऋणले चिन्ता पनि थपेको छ । त्यसैले उनले घरमा कमाएर घर खर्च चलाई रहेको छोरालाई जेलबाट निकालिदिन आग्रह गर्दै आइरहेकी छन् ।