काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आइरहेको छ । विभागले १महिनाको अवधीमा १हजार बढी ठाउँमा अनुगमन गरिसकेको छ । विभागले आइतबार काठमाडौँको कालीमाटी तरकारी तथा फलफुल बजारमा अनुगमन गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पुगे ।
अनुगमनका क्रममा अस्वाभाविक महँगी र व्यापारमा अनियमितता देखिएपछि केहि पसलहरूलाई सिल गर्न मन्त्री भण्डारीले निर्देशन दिएका थिए । व्यापारीले खरिद मूल्यभन्दा अत्यधिक नाफा राखेर सामान बिक्री वितरण गरेको पाइएको छ भने, बिल बिनै कारोबार गरेको पाइएको छ । केहि तरकारी र मासुजन्य पसलहरूमा सरसफाइमा पटक्कै ध्यान नदिएको पाइएको छ ।
माछामासु अव्यवस्थित रूपले फ्रिजिङ गरिएको तथा सरसफाइ ध्यान नदिएको पाइएको हो । अनुगमन टोली जाँदा व्यापारीहरू पसल बन्द गरि भाग्ने र अनुगमन टोलीलाई असहयोग गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । बजारमा भेटिएका उपभोक्ताहरूले खरिद मूल्य भन्दा १० गुणा बढीसम्म नाफा राखेर बिक्री गरि उपभोक्ता ठग्ने कार्य भइरहेकाले यस्ता व्यापारीलाई कारबाही गर्न माग गरेका छन् ।
मन्त्री भण्डारीले गुनासो आएका ठाउँहरूमा अनुगमन गरि तत्काल कारबाही गरिरहेको बताए । उनले वर्षाका कारण सिर्जित प्राकृतिक विपद्को पीडा भोगिरहेका उपभोक्ता नठग्न व्यवसायीहरूलाई आग्रह गरे । उनले अस्वाभाविक ढंगले कानुन विपरीत व्यवसाय सञ्चालन गर्ने व्यापारीलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन समेत दिएका थिए