धनगढी: सुदूरपश्चिममा भन्सार छल्ने ३ जना सशस्त्र प्रहरी बल नेपालका कर्मचारी कारबाहीमा परेका छन्। भन्सार नतिरी सामान ल्याउन खोज्ने ३ जना सशस्त्र प्रहरीहरु कारबाहीमा परेका हुन्। उनीहरूमाथि अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको आरोप छ। उनीहरू मद्धती सेवा गुल्म कैलालीमा कार्यरत थिए।
कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवर रहेका छन्। उनीहरूलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको जनाएको छ। उनीहरूले त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेको छ। यस्तै उनीहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको जनाएको छ।