धनगढी : भारतका विभिन्न सहरहरूबाट दसैं तिहारको अवसर पारेर घर फर्किरहेको सर्वसाधारणबाट सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले हैरानी मात्रै होइन घुस लिने गरेको पाइएको छ । भारतसँग जोडिने सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको धनगढी त्रिनगर क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीबाटै भारतबाट भित्रिने यात्रुले अनेक हैरानी खेपिरहनु परेको हो । भारतीय सुरक्षाकर्मीलाई अनाहकमा नगद बुझाउनुपर्ने, त्यसमाथि अनेक हप्कीदप्की सहन गर्दै आफ्नै देशको भूमिमा पुगेका उनीहरूमध्ये कतिपयले नेपाली सुरक्षाकर्मीलाई पनि अनावश्यक रूपमा नगद रकम बुझाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।
बिहीबार भारतको दिल्लीबाट दसैं मनाउन घर फर्किंदै गरेका बाजुराको त्रिवेणी नगरपालिकाका शंकर विकको समूहले सीमामा खटिएका नेपाली सुरक्षाकर्मीलाई ठाउँठाउँमा पैसा दिनु परेको बताएको छ । ‘एक एक सय गरी तीन ठाउँमा तीन सय भारु बुझायौं,’ विकले भने ‘हाम्रो सीमानामा प्रवेश गरिसकेपछि सुरुकै विन्दुमा खटिएको सशस्त्र प्रहरीले एक सय भारु माग्यो, त्यसपछि नेपाल प्रहरीको टोलीले रकम माग्यो र पुल पार गरेर यता आइसकेपछि फेरि सशस्त्र प्रहरीले सुटुक्क एक सय भारु माग्यो ।’
आफ्नै देशमा यस्तो हैरानी खेप्नु पर्दा धेरै दुःख लागेको विकले बताए । भारतीय क्षेत्रका सुरक्षाकर्मीलाई पनि सीमामा तीन सय भारु बुझाएर स्वदेशको भूमिमा पाइला टेकेदेखि नै हैरानी खेप्नु परेको भन्दै उनीहरूले गुनासो गरे । यतिबेला सीमा क्षेत्रमा अघिपछि भन्दा अत्यधिक घुइँचो छ । सुदूरपश्चिमेलीको मुख्य रोजगारस्थल भारतका विभिन्न सहर हुन् । दसैं तिहारको अवसर पारेर धेरैजसो घर फर्किने गर्छन् । सुरक्षाकर्मीले भारतबाट काम गरेर फर्किंदै गरेका कतिपय यात्रीको समूहबाट रकम अुसल्ने मात्रै होइनन्, सर्वसाधारणलाई चेकिङका नाममा गर्ने व्यवहारले पनि हैरान बनाइरहेको गुनासो छ । नेपाली सीमाप्रवेश गरिसकेपछि करिब पाँच सय मिटरको दूरीमा भन्सार कार्यालयबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक गरी पाँच ठाउँमा सुरक्षाकर्मीले पोस्ट खडा गरेका छन् । तीमध्ये दुई ठाउँमा सशस्त्र प्रहरी र ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले दुई वटा युनिटले अलग–अलग ठाउँमा चेक गर्ने गरेका छन् ।
भारतको महाराष्ट्रबाट आएका डोटीका टेकबहादुर कठायतले भने ‘त्यति छोटो दूरीमा चेक गर्नु पर्ने भन्दै पुलिसले चाररपाँच ठाउँमा हाम्रो झोलीझुम्टा उधिन्छन् । आफ्नै देशका पुलिसले हामीलाई चोर जस्तो व्यवहार गर्छन् ।’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसी सीमा क्षेत्रमा ट्राफिक र प्रहरी गरी नेपाल प्रहरीका दुई वटा टोलीले चेक गर्ने गरेको बताउँदै भने, ‘हामी शून्य सहनशीलताको नीतिमा छौं । कुनै प्रहरीले कमजोरी गरेको पाइएमा कारबाही गर्छौं र करेक्सन गर्छौं ।’ उनले सीमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर सुरक्षा व्यवस्था मिलाइएको बताए ।
यस्तै, सशस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख दलबहादुर पाण्डे कसैले पनि अनावश्यक सास्ती खेप्नु नपरोस् भन्नेमा सतर्क रहेको बताउँछन् । ‘हाम्रा प्रहरी कसैबाट पनि कुनै कमजोरी नहोस् भनेर म बेलाबेला आफैं पनि सादा पोसाकमा अनुगमन गरिरहेको छु र अर्को टोली पनि खटाएको छ,’ पाण्डेले भने ‘सीमा क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरीको प्वाइन्ट छ । ती मध्ये दुई ठाउँमा चेक हुन्छ । अन्तर्राष्ट्रिय सीमा हो । सुरक्षा संवेदनशीलता, अवैध सामग्री भित्रिन नपाओस् र राजश्व चुहावट नियन्त्रण हाम्रा प्राथमिकता हुन् । त्यसैले यी कामका लागि सशस्त्र प्रहरी आफ्नो जिम्मेवारीमा सतर्क छ ।’ कान्तिपुरबाट