धनगढी: उच्च रक्तस्रावका कारण ढकारीका एक सुत्केरी महिलाको बिहीबार मृत्यु भएको छ । ढकारी गाउँपालिका –६ ढुङ्गाचाल्नाकी २९ वर्षीया सरितादेवी जैसीको मृत्यु भएको हो । बच्चा जन्मिएर साल ननिस्केकाले रक्तस्राव भएपछि ढिलो गरेर अस्पताल पुग्दा सुत्केरीको ज्यान गएको बताइएको छ । बुधबार राति सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकी जाँदैगर्दा सरिताले राति करिब ३ बजेतिर बाटैमा छोरा जन्माएकि थिइन् ।
रक्तस्राव नरोकिएपछि ढुङ्गाचाल्नाबाट बिहीबार जिल्ला अस्पताल मङ्गलसेन ल्याइएकोमा दिउँसो सरिताको ज्यान गएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । मृतकबाट जन्मिएको शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ ।