धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित चण्डिका माध्यमिक विद्यालयका छात्राहरू भत्किएको झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जान बाध्य भएका छन् । विद्यालयमा अध्ययनरत महिनावारी भएका किशोरी यसरी जीर्ण भएको पुलबाट आवतजावत गर्दा स्थानीय प्रशासन मौन देखिन्छ ।
गत जेठ २७ गते पुलको एकतर्फका लट्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो । छिमेकी जिल्ला दैलेखबाट अछामको विद्यालयमा पढ्न आउने छात्राहरू कोल्टे परेको यही पुलबाट यात्रा गरिरहेका छन् । भत्किएर जीर्ण भएको पुलमा स्थानीय प्रशासनले यात्रामा रोक लगाए पनि किशोरीहरू आवातजावत गरिरहेका छन् ।
अर्को पुल नभएर किशोरीहरूले यात्रा गर्न नपाएका भने होइनन, जीर्ण पुलको करिब पाँच सय मिटरनजिक अर्को पुल छ । नवनिर्मित सो पुलनजिकै मन्दिर रहेकाले महिनावारी भएका किशोरीहरू सो पुलबाट हिँड्दा देवता रिसाउने भन्दै यात्रा गर्दैनन् । कक्षा ७ मा अध्ययनरत दैलेखको आठबिस नगरपालिका–५ की तुलसी चौलागाईंले आफूहरू महिनावारीको नौ दिनसम्म जीर्ण पुलबाटै विद्यालय आउने जाने गरेको बताइन ।
विद्यालयकी अर्की छात्रा गीता सुनारले विद्यालयमा हाजिर नहुँदा प्रतिदिन २० रुपियाँ जरिबाना तिर्नुपर्ने नियम रहेको बताइन् । विद्यालयमा नजाँदा पढाइ प्रभावित हुने र विद्यालयले जरिबानासमेत तिराउने भएकाले जीर्ण पुलबाटै जानु परेको उनको गुनासो छ । नयाँ बनेको पुलबाट महिनावारीको समयमा यात्रा गर्न नहुने स्थानीयको विश्वास छ । नवनिर्मित पुलको दैलेखतर्फ नैनेल देवताको मन्दिर छ । परापूर्वकालदेखि स्थानीयले नैनेल देवताको पूजा गर्दै आएका छन् । महिनावारी तथा गर्भवती भएको अवस्थामा मन्दिरनजिक जान नहुने यहाँको धार्मिक विश्वास छ । चण्डिका माध्यमिक विद्यालय अछामका लेखापाल गणेश कार्कीका अनुसार पहिलेको तुलनमा विद्यालयमा छात्राको उपस्थिति कम देखिएको छ । केही छात्रा जोखिम मोलेर विद्यालय आउने गरेको भए पनि अधिकांश छात्रा महिनावारीको नौ दिनसम्म विद्यालयमा अनुपस्थित रहेका छन् ।