काठमाडौँ — ललितपुर महानगरपालिका–२५ स्थित सुगम बस्तीमा बस्दै आएका चणिकलाल तामाङ पेसाले पेन्टर हुन् । काभ्रे, तिमाल घर भएका उनी निरन्तर वर्षाका कारण शनिबार काममा गएका थिएनन् । बिहीबारदेखिको वर्षाले नख्खु खोलामा बाढी आएपछि स्थानीय नदी आसपास पुगेका थिए । उनी पनि बाढी हेर्न त्यसतर्फ निस्केका थिए । नख्खु खोला किनारमा हिँडिरहेका उनले दुई जना मान्छे बगिरहेको देखे । ती व्यक्तिले गुहार लगाएपछि चणिकलालले हेरिरहन मात्र सकेनन् । केही नसोची तुरुन्तै खोलामा हाम फाले । ६ वर्षीया बालिका मेघना साह र उनका काका राज साहको उद्धार गरे । ‘त्यतिबेला मनमा केही आएन । जसरी भए पनि बाहिर निकाल्नुपर्छ भन्ने लाग्यो अनि खोलामा हाम फालें,’ उनले भने ।
किनारमा ल्याएपछि उनलाई अरूले पनि सहयोग गरे । पानीबाट बाहिर निकाल्दा बालिकालाई होस थिएन । पेट थिचे, बाढीमा डुब्दा खाएको पानी निस्किएपछि उनी होसमा आइन् । ‘बालिकाको काकालाई पनि राम्ररी होस थिएन । स्वर नि सानो आइरहेको थियो,’ उनले सुनाए, ‘बालिकाका बुवा चाहिँ अलिक अगाडि नै बगेर तल पुगेछन् । उनी पौडेर बाहिर निस्किए ।’
ललितपुरको नख्खुमा टिनको छाप्रामाथि बसेर उद्धार कुर्दाकुर्दै शनिबार बिहान पाँच जना बगेका थिए । सरकारले उद्धार गर्न नसक्दा बाढीमा बगेका उनीहरूमध्ये २ जनालाई चणिकलालले बचाएका हुन् । बालिकाका बुवा राजु साह भने आफैं पौडेर बाँच्न सफल भए । उनका भाइ राजका ४ वर्षीय छोरा सेतु र आफन्त नन्दु साह भने बाढीमा बगेर बेपत्ता भएका छन् । रौतहट घर भएका उनीहरू सुगम बस्तीमा बस्दै आएका थिए ।
‘हाम्रो बस्ती नजिकै टहरा छ । हामी पनि बाढीले केकस्तो क्षति गर्यो भनेर बाहिर हेर्न र सहयोग गर्न निस्केका थियौं,’ सुगम बस्ती टोल सुधार समितिका अध्यक्ष पूर्णबहादुर खत्रीले भने, ‘एउटा टहरामाथि एक परिवार सहयोग माग्दै बसेका थिए । हेर्दाहेर्दै बाढीले टहरा बगायो । दुई जनालाई चणिकलालले बचाए र एक जना आफैं पौडिएर बचे ।’