धनगढी । मौसम विज्ञान विभागका अधिकारीहरूले राजधानी काठमाण्डूसहित देशको पूर्वी भागका विभिन्न स्थानमा थोरै वर्षाको सम्भावना रहेको जनाएका छन्।
शुक्रवार बिहान यताको अविरल वर्षापछि देशका विभिन्न ठाउँमा बाढी तथा पहिरो गएका कारण १०० जनाले ज्यान गुमाएका, १०१ जना घाइते भएका र ६७ जना बेपत्ता छन् ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान शाखाका मौसमविद् गोविन्द झाले आंशिक र सामान्य बदली भए पनि बिस्तारै मौसम खुल्दै आएको बताए । एक दुई स्थानमा जस्तै कोशी प्रदेशको पहाडी भेगतिर छिटपुट वर्षा भइरहेको छ।
खाँदबारी, लुक्लातिर पनि अलिअलि वर्षा भइरहेको छ। तर आगामी तीन दिनलाई एकदमै भारी वर्षाको सम्भावना नभएको उनको भनाई छ । उनले मनसुन अझै बाहिरिइनसकेकाले एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताए। मौसममा केही सुधार आएसँगै बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा हेलिकोप्टरमार्फ् उद्धारहरू अघि बढाउने प्रयास भइरहेको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।