धनगढी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन् । धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद अवरुद्ध गरेको समेत बताए । सरकार गठन भएको १०० दिन नपुग्दै प्रचण्डले संसदमा दिएको अभिव्यक्ति पूर्णत असंसदीय र अराजनीतिक रहेको भन्दै महासचिव पोखरेलले त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भएको बताए ।
माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको उनले बताए । तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको उनले बताए । दिनदहाडै बसमा आगजनी गर्ने, राति घरमा सुतेका एउटै घरमा ११ जनाको हत्या गर्ने काम भएको स्मरण गर्दै उनले त्यो हिंसा मात्र नभई आतंक पनि रहेको बताए । यद्यपि माओवादी कार्यकर्ताको वलिदान समाजको परिवर्तनका लागि भएको र त्यसको आफूहरुले प्रशंसा नै गर्ने गरेको उनले बताए ।
महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाएका । पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताए । अनुसन्धानलाई नै रोक्ने गरी भइरहेका गतिबिधि कानुनी राज्यमाथिको उपहास रहेको भन्दै उनले कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्नेमा जोड दिए । जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित नहुने उनको तर्क छ ।
सामाजिक सञ्जालका कारण आमसञ्चार माध्यमहरु संकटमा रहेको बेला सहकारीको रकम दुरुपयोग गरेर महत्वकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए । रविको नाम नलिई उनले संकटमा पु¥याउने व्यक्तिले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको समेत बताए । पोखरेलले भने, अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त हुँदा क्लिन चिट भनिने भएपनि यहाँ हल्ला गरेको भरमा कसैले क्लिन चिट प्राप्त नहुने उनको भनाई थियो । सहकारी छानबिन संसदीय समितिले कानुनसम्मत कारबाही गर भनेको विषयलाई क्लिन चिट भनेर प्रचार गर्नु गलत भएको समेत उनले बताए । महासचिव पोखरेलले गेटामा मेडिकल कलेज स्थापना भएन भनेर धेरै आक्रोस नपोख्न आग्रह गरे । अन्य प्रदेशमा मेडिकल कलेज तथा प्रतिस्ठान बन्ने भएकाले त्यहाँ स्थापनाको प्रक्रिया शुरु भएको महासचिव पोखरेलले बताए । सुदुरपश्चिममा बिश्वबिद्यालय स्थापना गर्ने निर्णय भएकाले ऐन पास भए सगैं बिश्वबिद्यालयको कानुन बन्ने र यसको कार्यान्वयन हुने उनको भनाई थियो ।