धनगढी: कैलालीको धनगढीमा सहुलियत मूल्य पसल सञ्चालन गरिएको छ । खाद्यले दसैँ, तिहार र छठको उपलक्षमा सहुलियत मूल्य पसलहरू सञ्चालन गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदूरपश्चिमले धनगढीको मेनरोडको बिक्री केन्द्र र मोहनपुर गेटको गोदाम रहेको क्षेत्रबाट सहुलियतमा चामल बिक्री थालेको छ । कम्पनीले अरुवा मोटा चामलको मूल्य प्रति किलोग्राममा पाँच रुपैयाँ छुट गरेर ५८ रुपैयाँ निर्धारण गरेको छ । २५ किलोग्राम अरुवा मोटा चामलको एक हजार चार सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
खाद्यले जिरा मसिनो चामलको प्रति किलोग्राम ८९ मूल्य निर्धारण गरेको छ । २५ किलोग्राम जिरा मसिनो चामलको मूल्य दुई हजार दुई सय २५ रुपैयाँ निर्धारण गरिएको छ । सोना मन्सुली चामलको मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ । सोना मनसुनी चामलको २५ किलोग्रामको मूल्य एक हजार पाँच सय निर्धारण गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामलमा पाँच रुपैयाँ सहुलियत गरेको छ ।