धनगढी: धनगढीको चौलानी क्लब चौलानीले आयोजना गरेको दुई दिवसीय पौडी प्रतियोगितामा नन्दिनाज एकेडेमीले ९ गोल्ड, ५ सिल्भर र ९ वटा ब्राउन्सज मेडल प्राप्त गरेको छ । नन्दिनाज एकेडेमीका बिद्यार्थीले सो मेडल सहित प्रथम स्थान हासिल गरेका हुन् । यस्तै बाल्मिकी स्कुलले दोश्रो स्थान प्राप्त गरेको छ । बाल्मिकीले ९ वटा गोल्ड, ३ वटा सिल्भर र ३ वटा ब्राउन्ज मेडल हात प्राप्त गरेको छ । पौडी प्रतियोगितामा एक्सीस बिद्याश्रम माध्यमिक बिद्यालयले तेश्रो स्थान प्राप्त गरेको छ । एक्सीसका विद्यार्थीले १ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्ज मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा कैलाली मोडेलले १ वटा, ग्ली एकेडेमीले ३ मेडल, ग्यालेक्सीले १ वटा मेडल, पन्चोदयले ४ वटा, त्रिनगरले १ वटा र सीसी.एसले २ मेडल हात पारेका थिए। प्रतियोगितापछि चौलानीले प्रथम भएका विद्यार्थीलाई प्रमाणपत्र तथा मेडल प्रदान गर्दै एक महिनाको १२ हजारसम्मको टिकेट बराबरको स्वीमिङ फ्री गराएको छ भने दोस्रो हुनेलाई मेडल, प्रमाणपत्र तथा ८ हजारसम्मको टिकट बराबरको स्वीमिङ फ्री गराएको छ। त्यस्तै तेस्रो स्थानवालालाई ८ हजार बराबरको टिकेट फ्रीसम्मको स्किम दिलाएको छ।
प्रथम हुने स्कुललाई नगद ५ हजार ५ सयसहित ट्रफि, दोस्रोलाई ३ हजार ५ सयसहित ट्रफी र तेस्रोलाई २ हजार ५ सय नगदसहित ट्रफी प्रदान गरिएको थियो। धनगढीमै नौलो सुरुवात नयाँ सोचको नारा लिएको क्लब चौलानीले शनिबार र आइतबार गरी २ दिवसीय पौडी प्रतियोगिता सम्पन्न गरेको थियो । सो प्रतियोगिता सुदूरपश्चिमकै पहिलो रहेको दाबी गरिएको छ। सुदूरपश्चिमका विद्यार्थीहरुको मनोवल बढाउने उद्देश्यले सो प्रतियोगिता गरिएको हो।
यसका साथै प्रतियोगिताबाट जिल्ला स्तरिय तथा राष्ट्रिय एवं अन्तराष्ट्रिय खेलमा पनि पौडीबाजको सहभागीता बढाउने उदेश्य लिएको छ। सो अन्तर विद्यालय प्रतियोगिताको अध्यक्षता क्लब चौलानीका सञ्चालक तिलक सिहं साउदले गरेका थिए। जसमा धनगढीका विभिन्न १२ वटा विद्यालयका करिव ९० छात्रछात्राको सहभागीता थियो। प्रतियोगितामा ४ उमेर समूहका विद्यार्थी सामेत थिए। प्रतियोगिताको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका अतिथिमा विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि लगायत सहभागी थिए। कार्यक्रमको सञ्चालन रोहित गिरिले गरेका थिए ।