धनगढी: डोटीमा आमाको किरियापुत्री बसेका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार रैकाललाई बलात्कारको आरोपमा पक्राउ गरिएको हो । रैकालले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्तीकरणी गर्दै ३० हजार रुपैयाँ समेत लुटेको अभियोग लागेको डीएसपी भट्टराईले बताए ।
घटनापछि फरार भएका रैकाललाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आर्दशको टोलीले पक्राउ गरेको हो । डिएसपी भट्टराईका अनुसार शनिबार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र उनी घर आएका थिए । आमाको दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो ।