धनगढी: सुदूरपश्चिम सरकारले भाद्र ३१ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि आजदेखि छलफल हुने भएको छ । यसअघि शुक्रबार देखि बजेटमाथी छलफल गर्ने भनिए पछि सत्तारुढ दलहरु बिच कै मतभेदका कारण बैठक बस्न सकेको थिएन । सुदूरपश्चिममा असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सरकारले असार १ गते प्रस्तुत बजेट फिर्ता लिएर दुई महिना पछि अर्को बजेट ल्याएको थियो ।
तर बजेट ल्याएको पाँच दिन बितिसक्दासमेत बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेका लागि बैठक आव्ह्रान गरेको थियो । तर शुक्रबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलहरु भित्र सहमति नबनेपछि बैठक नै स्थगित गरिएको थियो ।
त्यसपछि शुक्रबार साँझ पुनः बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलका सांसदहरु बिच शनिबार बैठक राखेर बजेट माथिको छलफल सुरु गर्ने समझदारी भएको छ । सोही समझदारी अनुसार आज बैठक बस्न लागेको सभामुख भीमबहादुर भण्डारीले बताएका छन । भदौ ३१ गते आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि बजेट प्रदेश सभामा पेस गरेका थिए । प्रदेश सभा बैठकमा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरिएको थियो ।