धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन्।
शुक्रवार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्न तयार रहेको बताएका हुन्। उनले भने, ‘उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि हामी सरकारको नीतिमा समस्या छन् भने, सरकारको नीतिमा प्रश्न छन् भने आउनुस् छलफल, बहस गरौँ। सरकारका नीतिमा होलान् कमजोरी, त्यो सच्याउन हामी तयार छौँ। कहाँनेर निजी क्षेत्र निरुत्साहित भएको हो, त्यसमा बहस गरौँ। अहिलेको जस्तो बलियो, दृढ सरकार कहिले पाउनु हुन्छ। नीतिमा सुधार गर्नुपर्छ भने पनि कहीँ समस्या छैन, सरकार तयार छ।’
उनले अहिले नेपालमा केही छैन र हुँदैन भन्ने भाष्य सिर्जना गरिरहेको भन्दै राज्यप्रति निराशा बाँड्न नहुने बताए। उनले भने, ‘एउटा ट्रेन्ड नै के भएको छ भने नेपालमा खासगरी युवा जमातमा एउटा निराशा व्याप्त रहने, त्यो निराशा प्रोत्साहित गर्न अनेक खालका लाञ्छना लगाउने, सरकार र राज्यप्रति निराशा पैदा गर्ने, सरकार केही होइन, केही गरेन, सरकारले गर्न चाहेको छैन भन्ने खालको भाष्य निर्माण गरेर आज एउटा निराशा व्याप्त गर्ने र त्यो खालको अराजकता सिर्जना गर्ने गतिविधि भइरहेको छ।’
उनले सरकार मेरो हो भन्ने भाव राखेर काम नगरेसम्म देश नबन्ने दाबी गरे। आर्थिक समृद्धिका लागि सफल हुनुपर्ने भन्दै राज्यलाई कमजोर देख्नेहरुबाट विकास सम्भव नरहेको उनले बताए।