कञ्चनपुर : न लाइफ ज्याकेछ । न त अन्य कुनै सुरक्षाका साधन । हावा भरेको ट्यूबको भरमा महाकालीको उर्लँदो भेलमा दाउरा संकलन गर्नु कम्ती जोखिम छैन । तर यस्तै जोखिम मोलेर भीमदत्त नगरपालिका१२ ओदालीका मनोज राना साथीभाईसँगै महाकालीमा हाम फाल्छन् । उर्लँदो भेलले बगाएर ल्याएका साना ठूला काठका टुक्रा संकलन गर्छन् । शारदा ब्यारेजको बनबासा पुलभन्दा केही तलबाट बग्दै महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसम्मै पुगेर राना दाउरा संकलन गर्छन् । यसरी दाउरा संकलन गर्दा जोखिम पनि निकै बढी हुने गरेको छ ।
‘डर त धेरै लाग्छ, जोखिम पनि धेरै छ,’ महाकालीमा ट्यूबबाट दाउरा निकाल्दै गरेका रानाले भने, ‘यस्तो गर्न नसके के गर्नु, खाना के ले पकाउनु, रोजगारी केही छैन, ग्यास किन्न सकिदैन ।’ उनले अलिअलि दाउरा बिक्री गरेर नुन तेलको जोहो पनि हुने गरेको बताए । महाकालीमा बाढी घटेका बेला ट्यूबमा नदीमै गएर दाउरा निकालिन्छ भने बाढी आएका बेला किनारबाटै निकल्ने गरेका छन्। लामो काठको डण्डीमा तारको हुकजस्तै बाँधेर दाउरालाई तान्ने गरिन्छ । त्यतिबेला नदी किनारमा दाउरा संकलन गर्नेको भीड नै लाग्ने गरेको छ ।
यसरी दाउरा तान्ने क्रममा बर्सेनि संकलन गर्नेहरु बग्ने पनि गरेका छन् । गत शुक्रबार पनि नदीमा २ जना बगे । एक जनाको शव भेटियो भने एकजना अझै बेपत्ता छन् । नदीमै गएर दाउरा संकलन गर्दा ट्यूबको हावा निस्केर पनि जोखिम हुने गर्दछ । तर तीन/चार वटा ट्यूबमा ५/७ जनासंगै जाने गरेको ओदालीकै सुरेश राना बताउँछन् ।