धनगढी । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट भाषण बहिस्कार गरेका छन् । सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरुले पहिले नाराबाजी गरेका थिए । २० मिनेटपछि फेरि शुरु भएको बैठकमा बजेट भाषण हुन थालेपछि भने उनीहरुले बैठक बहिस्कार गरेर बैठक कक्ष छोडे ।
माओवादीका संसदीय दलका नेता मानबहादुर धामीले, हामीले व्यवस्थालाई कता डोर्याइरहेका छौ, संविधानले असार १ गते बजेट ल्याउनु भन्छ तर आज किन ल्याइदैछ भन्दै प्रश्न गरे । प्रदेश सभामा बोल्दै उनले भने कहीँ नभएको जात्रा हाडी गाउँमा भन्दै आज असार हो कि भदौ ३१ हो भनेर फेरि प्रश्न गरेका थिए ।
प्रदेश प्रमुखको भूमिका ठिक नहुँदा असार १ गते तत्कालिन सरकारले ल्याएको बजेट पारित नभएको आशय पनि उनले व्यक्त गरे । उनले आज ल्याउन थालिएको बजेट कार्यान्वयनमा समस्या हुने पनि बताए ।
नेता धामीले बोली सकेपछि माओवादी र समाजवादीले बैठक कक्ष छोडेका हुन । उनीहरुले गैर संवैधानिक तरिकाले बजेट ल्याउन मिल्दैन भन्दै प्रदेश सभा बैठक बहिस्कार गरेका थिए । बैठकमा अर्को प्रतिपक्षी दल राप्रपाका खेमा विष्ट मात्र छिन् ।
विपक्षीले प्रदेश सभा बैठक बहिस्कार गरेपछि सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट भाषण गरिरहेका छन् ।